अहिले विश्वनै कोभिड १९को महामारीबाट गुज्रीरहेको छ । नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । आज सम्म आइपुग्दा कोरोना संक्रमितको सख्या १०१ पुगेको छ । कोभिड १९ बाट बच्न देशमा लकडाउन सुरु भएको पनि ४६ दिन भइसक्यो । संकटको यो घडीमा प्रतिकुलताका बाबजुद अत्यावश्यक सेवा प्रवाहको जिम्मेबारी बोकेका औषधी व्यवसायीहरुको अवस्था के छ । औषधीको प्रयाप्ता तथा सेवा प्रवाह कसरी भइरहेको छ ? र त्यसमा औषधी व्यवसायीहरुको संगठन नेपाल औषधी व्यवसायी संघ रुपन्देहीको भुमीका,व्यवसायीका समस्या र कोभिड १९ बाट बच्न निजी तथा सरकारी क्षेत्रले गर्नु पर्ने कामका सम्बन्धमा नेपाल औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सुरज भट्टराइसंग जनता टुडे संवाददाता फूलु सुनारले गरेको कुराकानी :
लकडाउन फेरी जेठ ५ गते सम्मकालागि लम्बिएको छ । अहिले सम्मको अवधीलाइ यहाँले कसरी नियाल्नुभएको छ ?
लकडाउनको पालना गर्दै आफु पनि सुरक्षित हुने र अरुलाइ पनि सुरक्षित बनाउदै सेवा दिनुपर्ने चुनौतीपुर्ण अवस्थाबाट हामी अगाडी बढीरहेका छौ । हाम्रा सबै औषधी व्यवसायी साथीहरुले यी कुरालाइ ध्यानमा राखेर सेवा दिइरहनु भएको छ र सजगता पनि अपनाइरहेका छौ । औषधी व्यवसायीको आँखाले हेर्दा कोभिड १९ बाट बच्न सरकारले समयमै लकडाउन घोषणा गरयो । अन्तराष्ट्रिय परिपेक्षलाइ पनि मुल्याङ्कन गर्ने हो भने सरकारको यो कदम निकै सहा्रनीय छ । तर लकडाउनको व्यवस्थापन जुन हिसाबले हुनु पथ्र्यो त्यो भएन की । जुन क्षेत्रलाइ सुरु देखि नै कडाइ गर्नु पथ्र्यो र परीक्षणको दायरा बढाउनु पथ्र्यो त्यसमा ध्यान गएन की भन्ने हो ।
तर पछिल्लो सयम सरकारले निश्चित क्षेत्रमा खुकुलो बनाउदै सिमानाकामा कडाइ गर्ने, परीक्षणको दायरा बढाउने भनेको छ त्यसले केही राहत दिन्छ की भन्ने लाग्छ । अव सरकारले परीक्षणको दायरा बढाउन ढिलो गर्नु हुन्न । सिमा नाकामा कडाइ गर्नु पर्छ । रेड जोनमा कडाइ गर्ने र स्वास्थ्य सर्तकता तथा सुरक्षा अपनाउदै ग्रिन जोनहरु खुकुलो बनाउदै जानु पर्छ । ताकी श्रमिकबर्ग,उद्योग,व्यपार व्यवसाय सगै देशको अर्थतन्त्रलाइ तहसनहस हुनबाट जोगाउन सकियोस ।औषधी व्यवसायि संघ रुपन्देहीको पछिल्लो अवस्था के छ ,व्यवसाय कसरी संचालन भएको छ ब्यबस्थापन कसरी गर्नुभएको छ?
नेपालमा स्वास्थ्य क्षेत्रमा औषधी उत्पादन तथा बिक्रि बितरणमा निजी क्षेत्रको योगदान झण्डै ८० प्रतिशत छ । औषधी उत्पादन तथा बिक्रिबितरण सगै स्वास्थ्य सेवाकालागि पनि निजी क्षेत्रको महत्पुर्ण योगदान छ र अहिलेको प्रतिकुल अवस्थामा सावधानी अपनाउदै सेवालाइ जारी राखेका छौ । मुख्य कुरा त कोभिड १९का बिरुद्ध सम्पूर्ण औषधी व्यवसायी एक भएर लाग्ने, स्वास्थ्य सेवा र औषधीको सहज बिक्रि बितरणकालागि सम्बन्धित निकायसंग समन्वय गरी बातावरण तयार गर्ने त्यसकालागि व्यवसायीलाइ पासको व्यवस्था लगायतका काम गरेका छौ ।
औषधी वा स्वास्थ्य सेवाको क्षेत्रमा देखिएका समस्या समाधानकालागि निरन्तर समन्वय गरीरहेका छौ । प्रतिकुलताका बाबजुद कहिकतै कालोबजारी हुन नपावस भनेर सचेत छौ । अनुगमन निरीक्षण पनि गरीरहेका छौ । संघले रुपन्देहीमा मात्रै हैन साविकको लुम्बिनी अंचल भरी नै औषधीको बिक्रि बितरणमा सहजता होस भनेर यहाँ स्टक भएका सामान अन्य जिल्लामा पठाउन र हामीसंग नभएका औषधी उपकरण आपुर्तीकालागि केन्द्रसंग समन्वय गरेर भएपनि अभाव हुन दिएका छैनौ ।
यसबाहेक कोरोना र यसको संक्रमण बाट कसरी बच्ने,सामाजिक दुरी कायम गर्दे सेवा प्रवाहमा कसरी जुटने, मिल्दोजुल्दो लक्षण देखिने बिरामीलाइ कसरी गाइड गर्ने जस्ता बिषयमा बिभिन्न माध्यमबाट व्यवसायीसंगै सर्बसाधारणलाइ पनि सुसुचित गर्ने काम गरेका छौ । औषधी व्यवसायी संघले माघको अन्तिम साता नै कोरोना सम्बन्धी सचेतना, पर्चा पम्फलेट र व्यानरहरु जिल्लाभरि पठाएर जनस्तरमा चेतना जागाउने काम गरेको हो । संघमै आबद्ध व्यवसायीहरु स्वास्थ्य सुरक्षा सामाग्री पिपिइ र मास्क उपलब्ध गराउनुकासाथै ती सामाग्री अभाव भइरहेका बेला उत्पादकसंग प्रत्यक्ष समन्वय गरी डब्लुएचओको मापदण्ड अनुरुपका स्वास्थ्य सुरक्षा सामाग्री व्यवस्थापनमा सहजीकरण गरीरहेका छौ ।
सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कोभिड १९ को त्रासका बिच फ्रन्ट लाइनमा काम गर्नुपर्ने पत्रकारकालागि पत्रकार महासंघ रुपन्देही मार्फत एक सयजनालाइ न्युनतम स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छौ ।
बुटवलको कोरोना विषेश अस्पताल स्थापनाका क्रममा व्यवसायि बाट सहयोग उठाएर १ लाख मुल्य बराबरको इमर्जेन्सि औषधी प्रदान गरेका थियौं । संघले ५ सय मिटरको दुरीमा औषधी पसल दिनमा ८ घण्टा खोल्ने तालिका बनाएर अनुरोध गरेसगै व्यवसायी साथीहरुले स्वास्थ्य सुरक्षा अपनाएर सेवा सुचारु गरीरहनु भएको छ ।अन्य क्षेत्रमा यो समयमा कालोबजारीका समाचार पनि आए औषधी व्यवसायी संघ यसमा कति सचेत छ ?
पहिलो कुरा त हामी सम्पुर्ण व्यवसायीसाथीहरु स्वयम यसमा सचेत छौं । संकटको घडीमा कही कतै कालोबजारी भएको प्रमाण सहित फेला परयो भने हामीले तत्काल कारबाही प्रक्रिया अगाडी बढाउने छौ । कहिले काँही साना तिना मानबीय त्रुटी हुन सक्छ तर नियतवस संकटको घडीमा कालोबजारी गर्न पाइदैन ।
हामि स्पष्ट भन्छौ औषधीमा १६ प्रतिसत मार्जिन र सर्जिकल सामानमा २० प्रतिसत भन्दा बढिमा नबेच्ने हाम्रो संस्थाको नीति नै छ ।
सर्वशुलभ दरमा गुणस्तरिय औषधी प्रदान गनु हाम्रो उदेश्य हो । मास्क र स्यानीटाइजरको सवालमा पनि संघले यसअघि नै स्पष्ट भनेको छ सामान उपलब्ध हुदाहुदै पनि अभाव देखाएर निर्धारित मुल्य भन्दा बढीमा बेच्न पाइदैन । यो पनि एक किसिमको कालोबजारी हो ।
म यहाँहरुलाइ जानकारी गराउ कि औषधी व्यबस्था बिभागमा दर्ता भएका सबै व्यवसायी हाम्रो संघमा आवद्ध हुनुहुन्न । रुपन्देहीमा झण्डै १६०० व्यवसायी औषधी व्यवस्था बिभागमा दर्ता देखिन्छ । तर हामिकहाँ १२ सय दर्ता हुनुहुन्छ र ति १२ सय व्यवसायीको ग्यारेन्टि हामी लिन्छौ । उँहाहरुले कालोबजारी पनि गर्नुभएको छैन ,उपलब्ध औषधी पनि सटेज गराउनुभएको छैन । किनकी म स्वयम नै हरेक हप्ता प्रत्यक्ष अनुगमनमा गएको छु । हरेक ठाउमा क्षेत्रगत रुपमा तोकीएकासंयोजकहरुले निरन्तर अनुगमन गर्नुहुन्छ । खैरेनि ,भैरहवा फर्साटिकर लगायतका स्थानमा हामीले अनुगमन गरीरहेका छौं ।
। म के स्पष्ट पार्न चाहान्छु भने औषधी पसल पहिला जस्तो खोज्नु हुदैन लकडाउनको अर्थ पनि बुझ्न पर्छ सबै भन्दा बढि संक्रमण स्वास्थ्यकर्मीबाट हुन सक्ने सम्भावना पनि रहन्छ । स्वाथ्य क्षेत्रको एउटा महत्वपुर्ण पार्ट औषधी व्ययसायी पनि हो । हिजो स्वास्थ्यमा बिहान ६ बजे देखि साझ ८ बजे सम्म सेवा प्रवाह हुन्थ्यो तर अहिले त्यो सम्भव छैन । स्वयम बिज्ञ चिकित्सकहरुले पनि भनिरहेका छन अहिलेको अबस्थामा सामान्य भए सम्म घरमै बस्ने तातो पानि खाने ,झोलीलो र पोषिलो खानेकुरा खानुस । धेरै गाह्रो भयो भने डक्टरसंग फोन बाट परामर्श लिने र औषधी लिनै पर्ने अबस्था आएमा औषधी पसलमा गएर सामाजिक दुरी कायम गरी लीगौ भन्ने शन्देश दिइरहहेका छन । र हामीले पनि हाम्रा साथीहरुलाइ अत्यावश्यक सेवा भएकाले फार्मेसिहरु खोल्नुहोस सेवाहरु दिनुहोस तर सामाजिक दुरी कायम गरेर मास्क, ग्लोब्स, पिपिइ लगाएर सेवा दिन अनुरोध गरेका छौ ।औषधीको उपलब्धता संगै विशेषगरी दीर्घरोगका बिरामी जसले दिनदिनै औषधिको सेवन गर्नुपर्ने हुन्छ । त्यस्ता औषधीको उपलब्धता के छ ?
दीर्घरोग जस्तो दम ,मुटु,व्लड प्रेसर ,सुगर जस्ता रोगका औषधी अहिले सम्म अभाव छैन र यदी भोली सकियो भने पनि केन्द्रसंग समन्वय गरेर तत्काल व्यवस्थपन गर्ने तयारी गरीसकेका छौ । बरु एउटा समस्या चाँही हुन सक्छ कोही बिरामीले पहिले जुन कम्पनीको औषधी खानुहुन्थ्यो त्यही कम्पनीको औषधी तत्काल वा जाहाँतही नहुन सक्छ । संकटको यो घडीमा ब्राण्ड खोज्ने बेलापनि त होइन । उही काम गर्ने अर्को कम्पनीको औषधीलाइ पनि सहज रुपमा लिनु पर्छ भन्ने चिकित्सकहरुको सुझावलाइ सबैले मनन गरौं ।
औषधी उत्पादक र होलसेलरहरुका अनुसार दिर्घरोगको मात्रै हैन अन्य औषधीपनि रुपन्देहीमा २ महिनालाइ पुग्ने स्टक छ । केही औषधी उद्योगमा अहिले कच्चा पदार्थ अभाव हुन थालेको छ । भने करिब ४० प्रतिशत उद्योगमा अझै १५ दिनलाइ पुग्ने कच्चा पदार्थ छ र त्यतीन्जेल सम्म त बाहिरबाट कच्चा पदार्थ ल्याउने बातावरण पनि बन्ला भन्ने आसा लिएका छौ ।लक डाउनको समयमा पनि सेवा दिँदै हुनुहुन्छ तीन तहको सरकार बाट सहयोग र समन्वय कस्तो छ ?
अहिले तीन तहकै सरकार तथा सम्बन्धित निकायबाट सहयोग र समन्वय राम्रो छ । केही दिन अघि उद्योग मन्त्रालयका सह सचिव नवराज ढुंगानाले जिल्लाको औषधी उद्योगको अवस्थाका बारेमा चासो पुर्वक कुराकानी गर्नुभएको थियो । औषधी उद्योगहरु के कारणले बन्द हुदैछन डिटेल पठाइदिनुस सहजीकरण गर्छौ भन्नु भयो । भन्नुको मतलब प्रदेश सरकार र स्थानीय तहले मात्रै हैन केन्द्रीय सरकारले पनि रुपन्देहीमा औषधीको उपलब्धता वा यहाँको उत्पादनका सम्बन्धमा त्यतीकै प्राथमिकतामा राखेर काम गरेको छ । प्रदेश सरकारको तर्फबाटपनि केही दिन अघि सम्बन्धित मन्त्रालयका सचिव डा राधा वाग्ले सहितको टोली अनुगमनमा गएर उद्योगको वस्तुस्थिती बुझ्नु भएको थियो । आयुर्वेद औषधी र उद्योगका सम्बन्धमा पनि प्रदेशको सामाजिक विकास मन्त्रालयले गाइड लाइन बनाएको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालज्युले यसलाइ प्राथमिकता दिएर अगाडी बढाउनु भएको छ । त्यस्तै मास्क, पिपिइ जस्ता सामाग्री ल्याउन या तीनकालागि कच्चा पदार्थ काठमाण्डौबाट झिकाउनु पर्दा प्रदेश सरकार तथा प्रशासनबाट उचित सहयोग व्यवसायी तथा उद्योगी साथीहरुले पाउनु भएको छ र त्यसमाा संघले समन्वय गरीरहेको छ ।
औषधी व्यवसायी संघ भनेको सबै भन्दा पुरानो,व्यवस्थित र सरकारको स्वास्थ्य नीति अनुरुपनै चलेको व्यवसायी संस्था हो । तीन तहकै सरकारसंग म एउटा अनुरोध गर्न चाहान्छु की अफ्टयारो पर्दा त हामी सहकार्य समन्वयकालागि तयार नै छौ जुन हाम्रो सामाजिक उत्तरदायित्व पनि हो । तर प्रतिकुल समयमा सम्झने अरु बेला बिसर्ने जुन पुरानो सरकारी प्रबृत्ति छ त्यसलाइ अब भने सुधार गर्नु पर्छ । तीन तहकै सरकारले अवका दिनमा स्वास्थ्य क्षेत्रको विकासमा विशेष ध्यान दिनु पर्छ । निजी क्षेत्रलाइ पनि प्रोत्साहन हुने खालका कार्यक्रम अवको बजेटले समेटन सकोस । सहकार्यकालागि निजी क्षेत्र सदैब तयार छ ।अहिलेको समयमा औषधि व्यवसायीले भोग्नु परेका समस्या के –के हुन ?
पहिलो कुरा त यातायातको समस्या छ । दोश्रो भनेको यो क्षेत्रमा जती जोखीम मोलेर साथीहरुले काम गरीरहनु भएको छ ,त्यसलाइ सरकारले समयमै बुझेर स्वास्थ्य सुरक्षाको व्यवस्था,राहत,सहुलियत या बिमाको व्यवस्था गर्न सक्नुपथ्र्यो । कथमकदाचित भोली एक जना मात्रै स्वास्थ्यकर्मी या व्यवसायी इन्फेक्टेड भयो भने त्यसले निम्त्याउने अवस्था खतरनाक हुन सक्छ । एकैजनाबाट धेरैमा सर्न सक्छ । सरकारले निजी क्षेत्रलाइ सेवा देउ भनिरहदा उनीहरुको स्वास्थ्य सुरक्षा र जोखीमका सम्बन्धमा कुनै सम्बोधन भएन ।
आर्थिक समस्या त छदैछ । औषधी पसल तथा क्लिनीक खोलेर बस्दा तीनमा कार्यरत कर्मचारीको तलब खुवाउन सक्ने अवस्था रहन्छ की रहदैन । उनीहरुको स्वास्थ्य सुरक्षाको पनि कुरा आउछ ।
होलसेलको व्यापार हेर्नु भयो भने लगभग ६० ,६५ करोड मासिक औषधिको खपत छ ,रूपन्देही जिल्ला बाट यो प्रदेश भरी पनि जान्छ । गत चैत्रमा झन्डै १२,१३ करोडको मात्र टोटल व्यापार भयो । अहिले वैशाखमा त मलाई लाग्छ ५ ,७करोडमा टोटल व्यापार खुम्चीन्छ ।
यसरी व्यापार खुम्चीदा ५० प्रतिसत कर्मचारीलाइ तलब दिन पनि मुस्किल छ । काम नभएपनि ती कर्मचारीले दोकानमा कुरेर बस्दीनु पर्यो फोन आउँछ उठाइदिनु पर्यो उहाँहरूलाई तलब त दिनु परयौ । खुद्राको अवस्था पनि उस्तै छ । जहाँ औषधि स्टक बसेको छ व्यापार बिना कर्मचारीको तलब भर्दा व्यवसायी मारमा छन ।
औषधीमा अर्को ठुलो समस्या भनेको बिक्रि घटदा ठूलो मात्रामा औषधीहरु एक्सपाएर हुने सम्भावना छ । केही औषधिको डेट १ वर्ष पछि छ केहीको १८ महिना २४ महिना , धेरै भनेको ३६ महिना एक्सपायर मिति हुन्छ । कोभिडको त्रास फैलेसगै सुरुमै केही औषधि व्यवसायी साथीहरु डराउनु भयो एक चोटी भारतले २,४ ओटा औषधि बन्द्य गर्दीयो त्यो गर्दा साथीहरुले पहिले नै केही औषधी स्टक गर्नु भएको छ । तर व्यापार छैन । ती औषधी भोली थोक व्यापारी हुँदै उद्योगमा फीर्ता जान्छ । कर तिरीसकेका औषधी माटोमा मिल्काउनु पर्ने अवस्था आउनु भनेको उद्योग आर्थिक संकटतीर धकेलिनु हो । उद्योगले आफुले माटोमा मिल्काएका औषधीको पैसा कहिले फिर्ता दिन्छन त्यसको ठेगान हुँदैन । जसको मारमा होलसेल र खुद्रा व्यापारी दुवै पर्छन ।
अन्य पेशा व्यवसाय गर्ने साथीहरुले औषधि पसल खुला छन तपाईंहरुको कारोबार राम्रो छ भन्नुहुन्छ । तर आन्तरिक पीडा झन धेरै छन । घरबाट निस्किन्न पसल खोल्दीन भनेर त भएन । व्यापार भएपनि नभएपनि जोखीममै काम त गर्नु पर्यो। कर्मचारीलाई तलब पनि खुवाउनै पर्यो आफूले खायर नखाएर जसरी पनि ।
अन्त्यमा केही भन्न चाहानुहुन्छ ?संकटका बेला आत्तिएर हैन धैर्यताले जीवन चलाउन सिकौं । लकडाउन पालना गरौं । समाजिक दुरी कायम गरौं । यो बेला कुनैपनि रोगलागे औषधी उपचार पाइदैन भन्ने भ्रममा नपरौ । औषधी व्यवसायी साथीहरुलाइ पनि बजारमा औषधिको अभाव छैन ढुक्क हुनुहोस भन्न चाहान्छु । डेड÷ दुई महिनालाई प्रयाप्त औषधी छ । औषधी ढुवानीकलाािग पनि संघले तीन तहकै सरकारसंग समन्वय गरेर सहज रुपमा उपलब्ध गराउने व्यवस्था गर्नेछौ । त्यसकालागि संघसंग समन्वय गर्न आग्रह गर्दछु । कही कतै तपाइहरुलाइ समस्यामा परयो । औषधीको कालोबाजारी भयो भन्ने प्रमाण सहित फेला पार्नु भयो भने म लगायत संघका पदाधिकारी वा सदस्य साथीहरुलाइ सम्पर्क गर्नु होला । औषधि व्यवसायी संघको फेसबुक पेज मार्फत पनि सम्पर्क गर्न सक्नु हुन्छ । सेवा लिँदा दिदा समाजिक दुरी कायम गरौ । आफु सुरक्षित रहेर अरुलाई पनि सुरक्षित बनाउन सकिन्छ भन्ने मान्यतालाई नछोडौ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्