नेपालका हिमाल आरोहरण गर्नका लागि बहराइनका राजकुमारसहित १८ जनाको टोली मंगलबारराति नेपाल प्रस्थान गरेको छ ।
लोबुचे र मनास्लु हिमाल चढ्ने उदेश्यसहित टोली राति १२ः३० बजे नेपाल
प्रस्थान गरेको बहराइनस्थित नेपाली राजदूुतावासले जनाएको छ । भदौ १५ बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने गरी चार्टर फ्लाइटबाट नेपाल आउन दिने निर्णय गरेको थियो।
सोही निर्णयलाई आधार मानेर बहराइन डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा तीन जना बेलायती नागरिक रहेको टोली नेपाल आउँदै गरेको हो । टोली शेख ईशा एयरबेसको विशेष विमानबाट नेपाल प्रस्थान गरेको राजदूतावासले जनाएको छ।
दूतावासका अनुसार टोली लगभग दुई महिने कार्यक्रम तय गरेर नेपाल प्रस्थान गरेको हो । टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिँदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पनि जनाइएको छ ।
पर्वतारोहणमा सहभागी हुने सदस्य तथा विमानको चालक दलका सदस्यहरू सबै जना पछिल्लो १५ दिनदेखि स्वः क्वारेन्टाइनमा रहेका थिए।कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । टोलीले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्ने दूतावासले जनाएको छ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाल लगायतले प्रस्थान पूर्व टोलीलाई पर्वतारोहणमा सफलताको शुभकामना दिएका थिए।
प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्