रुपन्देही
रुपन्देहीको शंकरनगरका प्रकाश ज्ञवाली गत शनिबार बुद्ध जन्मस्थल लुम्बिनी घुम्न जानुभयो । स–परिवार लुम्बिनी पुग्नुभएका ज्ञवालीले मायादेवी मन्दीरको दर्शन गर्न पाउनुभएन । कोरोना भाइरस सङ्क्रमणका कारण मायादेवी मन्दिर बन्द भएपछि बाहिरबाटै दर्शन गरेर उहाँहरु फर्किनुभयो ।
ज्ञवाली जस्तै अन्य आन्तरिक पर्यटकहरु लुम्बिनी गएर पनि मायादेवी मन्दिरमा दर्शन गर्न नपाउँदा खिन्न हुनुहुन्छ । पछिल्लो समय बुद्ध जन्मस्थलमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपनि मायादेवीसहित लुम्बिनीका दुई दर्जन बढी बिहारहरु बन्द भएपछि पर्यटकहरु निराश भएर फर्किने गरेका छन् । “कोरोना भाइरस सङ्क्रमणका कारण धेरै समय घरमा बस्दा दिक्क लागेर लुम्बिनी घुम्न गयौँ तर त्यहाँका मन्दिर त खुलेकै रहेनछन् ”, ज्ञवालीले भन्नुभयो, “मायादेवी मन्दिर हेर्न नपाएपछि लुम्बिनी गएको जस्तो पनि भएन ।”
कोरोना महामारीका कारण गरिएको लकडाउनसँगै सरकारले मठमन्दिरहरु प्रवेशमा रोक लगाएपछि मायादेवी मन्दिर पनि बन्द गरिएको हो । लुम्बिनीमै बस्ने योजना बनाएर आएका पर्यटकहरु पनि मन्दिर बन्द भएपछि फर्किने गरेको लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले बताउनुभयो । सुरक्षा मापदण्ड अपनाएर मन्दिर खोल्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पर्यटन व्यवसायी सुरक्षित भएर सेवा दिन तयार छौँ अब लुम्बिनीमा पर्यटकीय गतिविध बढाउन मन्दिरहरु खोल्नुपर्छ ।”
कोभिड– १९ को महामारीका कारण झण्डै आठ महिनादेखी बुद्ध जन्मस्थल मायादेवी मन्दिर बन्द छ । मन्दिर बन्द हुँदा नियमित पूजा पाठको काम समेत रोकिएको छ । भिक्षु, भिक्षुणी तथा स्थानीय बौद्ध उपासक उपासिकाहरुले मन्दिरमा पूजा गर्न पाएका छैनन् । मायादेवी मन्दिरसँगै लुम्बिनीमा रहेका विभिन्न चाइना, जर्मन, कोरीयन, जापान, थाईल्याण्ड, श्रीलंका लगायतका विभिन्न देशका बिहारहरु बन्द छन् । मन्दिर बन्द हुँदा लुम्बिनीको रौनकता हराएको पर्यटन व्यवसायीहरुको भनाइ छ ।
मन्दिर खुल्ला गर्न सात दिनको अल्टिमेटम
लुम्बिनीको मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै विभिन्न संघ संस्थाहरुले लुम्बिनी विकास कोषलाई सात दिनको अल्टिमेटम दिएका छन् ।
कोभिड–१९ को प्रभावका कारण लामो समयदेखि मन्दिर बन्द हुँदा नियमित पूजा आजा रोकिएको र आएका पर्यटकहरुले दर्शन गर्न नपाएको भन्दै संघ संस्थाहरुले आज लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा बन्दाबन्दी हटीसके पछि पनि मन्दिर खुल्ला नहुँदा लुम्बिनी आएका पर्यटकहरु पूजाआजाबाट बञ्चित रहेकाले सात दिनभित्रै मन्दिर खुल्ला गर्न माग गरिएको छ ।
लुम्बिनीका करिब एक दर्जन उद्योग, पर्यटन तथा समाजिक क्षेत्रमा क्रियाशील संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले कोषलाई ज्ञापनपत्र बुझाउदै सामाजिक दूरी कायम गरी धार्मिक र आध्यात्मिक गतिविधि शुरु गर्न आग्रह गरेका छन् ।
लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले सात दिनभित्र मायादेवी मन्दिर खोल्ने व्यवस्था नभए त्यसपछि उत्पन्न हुने परिस्थितीको जिम्मेवारी विकास कोषले लिनुपर्ने चेतावनी दिनुभयो । उहाँले सुरक्षा सतर्कता अपनाएर मायादेवीमा नियमित पूजापाठ शुरु गर्नुपर्ने र पर्यटकलाई दर्शन गर्न बताउनुभयो ।
लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी पर्यटन व्यवसायी ंसंघ, उद्योग व्यापार संगठन, लुम्बिनी संरक्षण नागरिक समाज, लुम्बिनी बुद्ध धर्म संरक्षण समिति, सिद्धार्थ होटल संघ नेपाल, मायादेवी प्रगतिशील आमा समूह, बौद्ध युवा संघ, रिक्सा व्यवसायी संघ, ट्याक्सी व्यवसायी संघ, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले धार्मिक मठमन्दिर प्रवेशमा रोक लगाउने निर्णय सरकारको भएकाले विकास कोषले निर्णय लिन नमिल्ने जानकारी गराउनुभएको थियो । उहाँले यसबारे संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जानकारी गराई मन्दिर खोल्ने वातावरण मिलाउन भने पहल गर्ने बताउनुभयो ।
लुम्बिनीका उद्योगी तथा व्यवसायीहरुले यसअघि पनि मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै पटकपटक विकास कोषलाई ज्ञापनपत्र बुझाएका थिए ।
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्