इरानका शीर्ष परमाणु वैज्ञानिकको तेहराननजिक हत्या

इरानका शीर्ष परमाणु वैज्ञानिकको तेहराननजिक हत्या

काठमाडौं – राजधानी तेहराननजिकै इरानका वरिष्ठतम वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या गरिएको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको छ। दमावन्द काउन्टीमा पर्ने अबशार्दस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

इरानका विदेशमन्त्री जवाद जारिफले “कुनै राज्यद्वारा गरिएको आतङ्कवादी कर्म” भन्दै हत्याको निन्दा गरेका छन्। इरानको गोप्य पारमाणविक कार्यक्रममा फख्रिजादेहको भूमिका रहेको पश्चिमा गुप्तचर निकायहरूको विश्वास रहिआएको छ।

“यदि इरानले पारमाणविक अस्त्रहरूको विकास गर्न चाह्यो भने फख्रिजादेह इरानी बमका पिता ठहरिनेछन्,” सन् २०१४ मा एक पश्चिमा कूटनीतिज्ञले समाचार संस्था रोयटर्सलाई भनेका थिए। इरानले आफ्नो पारमाणविक कार्यक्रम नितान्त रूपमा शान्तिपूर्ण उद्देश्यका लागि रहेको बताउँदै आएको छ।

इरानले प्रवर्द्धित युरेनियमको बढ्दो मात्रामा विकास गरिरहेको ताजा चासोबीच वरिष्ठतम वैज्ञानिकको हत्याको समाचार बाहिर आएको हो। गैरसैनिक ऊर्जा उत्पादन र सैनिक अस्त्र निर्माण दुवैका लागि प्रवर्द्धित युरेनियम महत्त्वपूर्ण मानिन्छ।

सन् २०१५ मा छवटा शक्ति राष्ट्रहरूसँग भएको सम्झौताले इरानको प्रवर्द्धित युरेनियम उत्पादनलाई सीमित तुल्याइदिएको थियो। तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देशलाई सम्झौताबाट अलग गरेपछि इरानले पनि उक्त सहमतिलाई मान्न छोड्यो।

लामो समयदेखि इजरेलले सम्झौताको विरोध गर्दै आए पनि राष्ट्रपति निर्वाचित जो बाइडनले ज्यानुअरीमा पद सम्हालेपछि इरान सँगको सम्झौतामा अमेरिका फर्कने प्रतिबद्धता जनाएका छन्। सन् २०१० देखि २०१२ को अवधिमा इरानका चारजना परमाणु वैज्ञानिकको हत्या भएको छ र हत्यामा इजरेलको संलग्नता रहेको तेहरानले आरोप लगाउने गरेको छ।

सन् २०१८ को एप्रिलमा इरानको पारमाणविक कार्यक्रमबारे प्रस्तुति दिँदा खासगरी इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले फख्रिजादेहको नाम उल्लेख गरेका थिए।

मोहसिन फख्रिजादेहलाई के भयो?
“सशस्त्र आतङ्कवादीहरूले रक्षा मन्त्रालय अन्तर्गतको रिसर्च एण्ड इनोभेशन सङ्गठनका प्रमुख मोहसिन फख्रिजादेह सवार गाडीलाई निशाना बनाए,” रक्षा मन्त्रालयद्वारा शुक्रवार जारी विज्ञप्तिमा भनिएको छ।

“आतङ्कवादीहरू र उहाँका अङ्गरक्षकहरूबीच भएको एउटा भिडन्तपश्चात् फख्रिजादेह गम्भीर रूपमा घाइते हुनुभयो र उहाँलाई तत्काल अस्पताल पुर्‍याइयो।”

उहाँको ज्यान जोगाउने चिकित्सकहरूको प्रयास दुर्भाग्यवश विफल भयो र केही “मिनेटअघि मात्रै उहाँले संसार छोड्नुभयो,” विज्ञप्तिमा अगाडि भनिएको छ।

को थिए मोहसिन फख्रिजादेह?
उनी इरानका ख्यातिप्राप्त परमाणु वैज्ञानिक हुनुका साथै इरानको इस्लामिक ‘रिभोल्युशनरी गार्ड कर्प्स’का एक वरिष्ठ अधिकारी पनि थिए।

पश्चिमा सुरक्षा स्रोतहरूले लामो समयदेखि उनलाई एकदमै शक्तिशाली र इरानको पारमाणविक कार्यक्रमका महत्त्वपूर्ण व्यक्ति भएको बताउँदै आएका थिए। सन् २०१८ मा इजरेलले हात पारेका गोप्य दस्तावेजहरूका अनुसार पारमाणविक अस्त्र निर्माणका लागि उनले इरानी कार्यक्रमको नेतृत्व गरे।

त्यसबेला इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले फख्रिजादेहलाई इरानको पारमाणविक कार्यक्रमका प्रमुखको रूपमा चिनाएका थिए र “यो नाम सम्झिराख्नूस्” भनेर मानिसहरूलाई आग्रह गरेका थिए । बीबीसी

प्रकाशित मिति : शनिबार, मंसिर १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij