काठमाडौं – आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्यो र भन्यो- कोभिड-१९ संक्रमण बढेकाले आवश्यक सतर्कता अपनाउनुहोस् । हुन पनि छिमेकी मुलुकमा भाइरस संक्रमण दिनदिनै बढ्दो क्रममा छ । जसले गर्दा नेपालमा फेरि जोखिम देखिएको हो ।
नेपालमा केही महिनादेखि घट्दो क्रममा रहेको संक्रमण दर फेरि उकालिन थालेको छ । संक्रमित संख्या झिनो रूपमै बढिरहेको भए पनि यसप्रति सबै सचेत रहनुपर्छ । समयमै सावधानी अपनाइएन भने संक्रमणको अर्को लहर सुरु नहोला भन्न सकिन्न ।
आम नागरिकदेखि सबै तहले कोभिड-१९ को दोस्रो लहर फैलिन नदिन स्वास्थ्य मापदण्डहरूको अनिवार्य पालना गर्नु/गराउनु अत्यावश्यक भएको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईसीडीसी)का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला बताउँछन् । अहिल्यै ध्यान नदिए पुनः संक्रमण फैलिने र दोस्रो लहर सुरु हुने खतरा रहेको उनको बुझाइ छ ।
जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएका कारण छिमेकी मुलुकसहित अन्य देश झैं नेपालमा पनि संक्रमण दर पुनः उच्च हुनसक्ने उनको चेतावनी छ । ‘भारतमा संक्रमण बढेसँगै हामी दोस्रो लहरको उच्च जोखिममा परिसकेका छौं,’ वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले भने, ‘यो अवस्थामा सरकारले आवश्यक कदम चाल्नु गर्नुपर्ने देखिन्छ ।’
जनस्वास्थ्यका मापदण्ड पालनामा उदासीनता
कोभिड-१९ विरुद्धको खोप नेपालमा भित्रिएपछि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न हेलचेक्र्याइँ देखिएको छ । अधिकांशले मास्क लगाउन छोडिसकेका छन् भने सार्वजनिक स्थलमा भीडभाड र सभा, गोष्ठी र सम्मेलनमा पनि आवश्यक सतर्कता अपनाइएको हुँदैन ।
बसभित्र मास्कको प्रयोग भएको देखिँदैन, सडकमा पनि मानिस खुलेआम हिँडेको देखिन्छ । जोखिम रोक्न सीमानाकामा अनपनाउनुपर्ने प्रभावकारी संयन्त्र र मुलुकभित्रै अपनाउनुपर्ने जनस्वास्थ्य मापदण्डमा लापरबाही भइरहेको देखिएको जनस्वास्थ्यविद्हरु बताउँछन् । जसले गर्दा सम्भावित जोखिमको खतरा बढेको हो ।
अहिलेदेखि नै सावधानी अपनाउन नसके होलीपछि संक्रमण बढ्न सक्छ । भारतमा रोजगारीबाट फर्केका नेपालीबाट गाउँ-गाउँमा संक्रमण फैलने सम्भावना बलियो छ । नयाँ वर्षसँगै संक्रमणको दोस्रो लहर देखा पर्न सक्नेतर्फ सरकारले ध्यान दिन जरुरी छ ।
-स्वास्थ्य मन्त्रालयको विज्ञप्ति :-
प्रकाशित मिति : सोमबार, चैत्र ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्