काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्विरुद्ध ठूलो घेराबन्दी भइरहेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा नेपाल पत्रकार महासंघको बिदाइ तथा पदभार कार्यक्रममा सभामुख सापकोटाले आफू सभामुखका रूपमा राष्ट्रिय हितको पक्षमा उभिएदेखि नै यस्तो घेराबन्दी भएको बताएका हुन् । संसदलाई जनमूखी बनाउन थालेपछि घेराबन्दी गरिएको र विभिन्न अभिव्यक्ति आउने गरेको भन्दै उनले यसलाई कुनै व्यक्ति वा अधिकारीबीचको टक्करको रुपमा लिन नहुने र यो प्रवृत्तिबीचको टक्कर भएको बताएका छन् ।
सापकोटाले अहिलेको टक्कर संविधानको रक्षा गर्ने कुरासँग पनि सम्बन्धित रहेको जिकिर गरे । उनले आफूले देश र जनताको हितविपरीत कुनै काम नगर्ने र आफूलाई जनताको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने उल्लेखसमेत गरेका छन् ।
सभामुख सापकोटाले देश र जनताको काम गर्न रोक्न जस्तोसुकै दबाब र प्रभाव आए पनि नरोकिने स्पष्ट पारे । उनले कानुन निर्माणमा संसद्को महत्वपूर्ण भूमिका रहने भएकाले त्यसलाई प्रभावकारी ढंगले चलाउन प्रयास गर्ने समेत बताएका छन् ।
कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष बिपुल पोखरेलले सञ्चारमैत्री कानुनहरू निर्माणका लागि गम्भीर हुनुपर्ने र विस्तृत छलफल हुनुपर्ने बताए ।
त्यस्तै महासंघका निवर्तमान उपाध्यक्ष दिलिप थापा मगरले प्रेस स्वतन्त्रता र पत्रकारहरुको हकहितका लागि निरन्तर आन्दोलन गर्नुपर्ने बताए ।
कार्यक्रममा पुरानो कार्यसमितिलाई बिदाइ तथा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो ।
प्रकाशित मिति : आइतबार, बैशाख ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्