कांग्रेसमा ३ लाख ८९ हजार क्रियाशील सदस्य थपिए

कांग्रेसमा ३ लाख ८९ हजार क्रियाशील सदस्य थपिए

काठमाडौं – नेपाली काँग्रेसमा आसन्न १४ औँ महाधिवेशनका लागि निर्धारित समयसम्म साढे सात लाख बढी क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गते बसेको बैठकले अन्तिम पटकका लागि जिल्ला कार्य समितिहरूले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि यही वैशाख १५ गतेसम्म निर्धारण गरेको थियो ।

निर्धारित समयको राति १२ बजेसम्म वेबसाइटमा सात लाख ५३ हजार ३४४ क्रियाशील सदस्यता ‘इन्ट्री’ भएको र त्यसमध्ये नयाँ तीन लाख ८९ हजार ४५१ तथा नवीकरण तीन लाख ६३ हजार ८९३ रहेको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले राससलाई जानकारी दिए । पार्टीको निर्णयअनुसार नै वैशाख १५ गते राति १२ बजे कम्प्युटर सफ्टवेयरमा क्रियाशील सदस्यताको ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतः बन्द भएको छ ।

कतिपय जिल्ला कार्यसमितिले राति १२ बजेसम्म पनि क्रियाशील सदस्यता विवरण ‘इन्ट्री’ गरिरहेको र समयावधि थपका लागि आग्रह गरे पनि ‘सिस्टम’ स्वतः बन्द भएको उनले बताए । क्रियाशील सदस्यता ‘इन्ट्री’ गर्दागर्दै बाँकी रहेका जिल्ला कार्यसमितिका हकमा केन्द्रबाटै केही गर्न सकिने सचिव रिजालले बताए ।

यसबाहेक पार्टीका बारा, सिन्धुपाल्चोक र सप्तरी जिल्ला कार्यसमितिका क्रियाशील सदस्यताको विवरण भने ‘इन्ट्री’ हुन बाँकी छ । बारा र सिन्धुपाल्चोकमा नेपालको संविधानअनुसार पार्टीको संरचना समायोजन प्रक्रिया नै विवाद रहेको तथा सप्तरीमा भने क्रियाशील सदस्यताको प्रक्रिया ढिला शुरु भएको थियो । यी सबै जिल्लाका हकमा वैशाख मसान्तभित्र जिल्लाबाट केन्द्रको सफ्टवेयरमा ‘इन्ट्री’ गरिसक्नुपर्ने केन्द्रीय समितिको निर्णय छ ।

काँग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी जिल्लाको प्रतिवेदन वैशाख १७ गते साँझ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाइ सक्नुपर्ने तालिका निर्धारण गरेको छ । सफ्टवेयरमा ‘इन्ट्री’ भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले पार्टीको वेबसाइटमा सार्वजनिक गरिने छ ।

सो बैठकले अन्य राजनीतिक दलबाट काँग्रेसमा प्रवेश गरेका सदस्यको क्रियाशील सदस्यता फारम वैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयले जिल्लालाई उपलब्ध गराउने, त्यस्ता फाराम सबै प्रक्रिया पूरा गरी जिल्ला कार्यसमितिले वैशाख मसान्तभित्र केन्द्रमा पु¥याइसक्नुपर्ने र त्यसको कम्प्युटर ‘इन्ट्री’ क्रियाशील सदस्यता छानबिन समितिले नै केन्द्रमा गर्ने निर्णय गरेको थियो ।

काँग्रेसले विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता विवरण भने यसमा समावेश गरेको छैन । जनसम्पर्क समितिका क्रियाशील सदस्यताको विवरण पार्टीको वेबसाइटमा ‘इन्ट्री’ नगरी छुट्टै तरिकाले केन्द्रीय कार्यालयमा प्राप्त हुने सचिव रिजालले जानकारी दिए । पार्टीको १३ औँ महाधिवेशनमा १८ जनसम्पर्क समितिले भाग लिएको र ती जनसम्पर्क समितिमा करिब २५ हजार क्रियाशील सदस्यता रहेको थियो । हाल काँग्रेसका जनसम्पर्क समितिको सङ्ख्या विस्तार भई ३६ पुगेको छ ।

काँग्रेसले १३ औँ महाधिवेशनमा चार लाख ९० हजार क्रियाशील सदस्यता रहेकामा आसन्न १४ औँ महाधिवेशनसम्म सो सङ्ख्याको शतप्रतिशत थप्न पाउने व्यवस्था गरेको थियो । क्रियाशील सदस्यताको विवरणलाई व्यवस्थित बनाउन सबै जिल्ला कार्य समितिलाई पार्टीको वेबसाइटमा अपलोड गर्ने व्यवस्था गरिएको छ । पार्टीको नियमावली बमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क रु २०० छ भने नयाँ क्रियाशील सदस्यता आवेदन शुल्क रु ३०० रहेको छ ।

काँग्रेसको विधान, नवौं संशोधन (विसं २०७५ फागुन १२ गते) मा साधारण सदस्य र क्रियाशील सदस्य गरी दुई किसिमका सदस्यताको व्यवस्था गरिएको छ । काँग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि क्रियाशील सदस्यता प्राप्तिका लागि तोकिए बमोजिमको आवेदन फाराम भरी आफ्नो सदस्यता भएको पार्टी वडा कार्यसमितिको कार्यालयमार्फत तोकिए बमोजिमको शुल्कसहित आवेदन गर्नसक्ने व्यवस्था छ ।

काँग्रेसले १४ औँ महाधिवेशनका लागि पार्टीको गाउँ-नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ-नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते तोकेको छ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ । –रासस

प्रकाशित मिति : शुक्रबार, बैशाख १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij