काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाइ सक्ने ढंगले सरकारले काम गरिरहेको बताएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार प्रेस चौतारी आबद्ध पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले चुनावी वातावरण बिगार्नेहरूले खोप र सार्वभौमसत्ताको प्रयोगबारे जनतामा भ्रम सिर्जना गर्ने काम गरेको टिप्पणी गरे।
यसलाई उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको नाम लिएर उनीहरुले चलाएको ‘सेन्टिमेण्टल ब्लाकमेलिङ’ भनी टिप्पणी गरे।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले लोकतन्त्रलाई पराजित गर्न नसकेपछि प्रणाली भित्रै छिरेर लोकतन्त्रलाई हुँडल्ने काम गरेको दाबी प्रधानमन्त्रीले गरे।
उनले भने, ‘सरकारले चुनाव भए पनि खोप ल्याउँछ। खोप लगाउँछ। चुनाव नभएपनि खोप ल्याउँछ। खोप लगाउँछ। आफ्नो सार्वभौमसत्ताको प्रयोग र खोप यसलाई संगै जोड्नै हुँदैन। यो जनताको सेन्टिमेन्टसँग खेलवाड गरिएको कुरा हो। जनताले सार्वभौमसत्ताको प्रयोग गर्ने कुरा अहिले वातावरण बिगार्ने चुनाव हुनै हुँदैन भन्ने, चुनावसँग तर्सिने हालत कमजोर भएका प्रचण्ड माधव नेपाल जस्ताहरुको खेती हो यो। चुनाव भयो भने बेहाल हुन्छ। बेहाल त हुन्छ हुन्छ। वामपन्थी भनेको छ। देशभक्त भनेको छ। लोकतान्त्रिक भनेको छ। लोकतन्त्रविरुद्ध लड्यो लड्यो, लोकतन्त्रलाई पराजित गर्न नसकेपछि भित्रै छिरेर अनि भित्रैबाट हुँडल्ने काम गर्ने अनि लोकतन्त्रका नारा दिने ?’
उनले नेपाली जनताले राष्ट्रपति कार्यालयमा भएको अनुशासनहीन, अराजकता र मर्यादाहीन क्रियाकलापमा संलग्न, दलीय प्रणालीलाई उलंघन गर्ने र अरु पार्टीमा विग्रह पैदा गरेर आफ्नो दुनो सोच्याउन खोज्ने अस्वस्थ्य प्रवृत्ति र तीनका अगुवाको मूल्यांकन गरिरहेको बताए। उनले आफ्नो सार्वभौमसत्ताको सही ढंगले प्रयोग गर्नुपर्ने बेलामा सेन्टिमेन्टमा ल्याएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बञ्चित गराउने काम गर्नु ‘सेन्टिमेन्टल ब्लाकमेलिङ’ भएको बताए।
‘जनताको भावनासँगको खेलवाड हो। सेन्टिमेण्टल ब्लयाकमेलिङ हो यो। जुन चलाइराख्न खोजिएको छ। जनतालाई यसरी दिग्भ्रमित गर्न खोजिएको छ। सार्वभौमसत्ताको प्रयोग र जनताको उपचार पाउने हक बेग्लाबेग्लै कुरा हो। जनताको उपचार पाउने हकलाई सम्मान गर्न सरकार लागिपरेको छ दिनरात। त्यसका लागि भोट वा मताधिकार जनताले केही कुराका लागि पनि साट्तैनन् कुनै कुरासंँग पनि। तर यहाँ सेन्टिमेण्टल ब्लाकमेलिङ गर्न खोजिएको छ। यो अभियानका पछाडि ब्लाकमेलरहरु छन्। दूषित उद्देश्यका ब्लाकमेलरहरु।’
चुनाव अगाडि नै जनतालाई खोप लगाइसक्ने ढंगले मित्रराष्ट्र तथा खोप उत्पादकसँग सरकारले कुरा गरिरहेको पनि उनले उल्लेख गरे। उनले सही सत्य कुराको जानकारी गराएर भ्रम छर्नेहरुबाट जनतालाई जोगाउन सञ्चारजगतसँग आग्रह पनि गरे।
प्रकाशित मिति : आइतबार, जेष्ठ ९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्