गुरुलाई सम्मान गरेर मनाइने गुरु पूर्णिमा आज

गुरुलाई सम्मान गरेर मनाइने गुरु पूर्णिमा आज

गुरुप्रति सम्मान प्रकट गरेर मनाइने गुरु पूर्णीमा आज (शनिबार) परेको छ ।

आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मानभाव प्रकट गरी गुरु पूर्णीमा मनाउने गरिन्छ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भन्ने बुझिन्छ ।

ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। मातापिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ।

गुरु पूर्णीमाका अवसरमा यसदिन विभिन्न विद्यालय एवं सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् । तर यसवर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक कार्यक्रम कमै गरिए पनि मानसिक रूपमा श्रद्धाभाव प्रकट गरिने जनाइएको छ।

व्यास जयन्ती

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ।

आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो। व्यासले पुराण र उपपुराणका माध्यमबाट विभिन्न सकारात्मक सन्देश प्रवाह गरेको पाइन्छ ।

अरुको उपकार गरे धर्म हुन्छ एवं अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिइएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन्।

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले यसवर्ष गुरु पूर्णीमा र व्यास जयन्तीका कार्यक्रम भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाइँदैछ। जुम प्रविधिका माध्यमबाट गर्ने गरी कतिपय विद्यालय एवं संस्थाले कार्यक्रमको तयारी गरेका छन् । रासस

प्रकाशित मिति : शनिबार, साउन ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij