पन्ध्र सय गोही नदीमा छोडियो

पन्ध्र सय गोही नदीमा छोडियो

नवलपुर संकटापन्न अवस्थामा पुगेको घडियाल गोही संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको छ। संख्या वृद्धिसँगै बढ्दै गएको मानवीय चाप तथा शहरीकरण एवं औद्योगिकीकरणबाट सृजित जलप्रदूषणलगायत कारणबाट घडियाल गोहीको संख्या घट्दै गएपछि २०३५ सालमा कसरामा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको थियो।

घडियाल गोहीलाई बगेको सफा पानी तथा आहारको लागि माछा आवश्यक हुनु, सामान्य खालको दबाब पनि सहन गर्न नसक्नु, घडियालको अण्डा तथा बच्चालाई मगर गोहीका साथै पानीमा विचरण गर्ने ठूला खाले कछुवालगायत, स्याल, कुकुरले समेत खाइदिने गर्दा गोहीको संख्या घटेपछि प्रजनन केन्द्र स्थापना भएको निकुञ्जका पूर्वसहायक संरक्षण अधिकृत एवं संरक्षणकर्मी बेदबहादुर खड्काले बताए। स्थापना कालमा नारायणी नदीको बगरबाट घडियालको अण्डा सङ्कलन गरेर यस केन्द्रमा बच्चा हुर्काइएको थियो। केन्द्रमा हुर्किएका घडियालले २०५१ सालदेखि नै निरन्तर रुपमा बच्चा कोरली रहेका छन्।

केन्द्रमा हुर्किएका घडियाल तथा नारायणी नदी तथा राप्ती नदी किनारबाट ल्याइएका अण्डाबाट बच्चा हुर्किएपछि निकुञ्जले घडियाललाई खुला प्रकृतिमा लगेर छोड्ने गरेको खड्काले बताए। निकुञ्जले बर्सेनि नदी किनारमा गएर घडियालको गुँड खोज्ने तथा खतरा ठाउँमा रहेका अण्डा गुँडबाट झिकेर प्रजनन केन्द्रमा लैजाने गरेको छ। खोलाको छेउमै बालुवाको ढिस्कोमा पारेको अण्डा, पानीले गुँडको ढिस्को काट्दै गरेको, पानीको बहावले बगाउने खतरा रहेको, गुँड पानीको सतहबाट कम उचाइमा रहेका गुँड तथा हात्ती, गैँडा हिड्ने बाटोमा परेका गुँडबाट निकुञ्जले अण्डा सङ्कलन गर्ने गरेको खड्काको भनाइ छ।

घडियालको अण्डाबाट बच्चा निस्कन ९० दिन लाग्छ। प्रजनन केन्द्रमा बच्चा कोरलेपछि हुर्किएका घडियाल गोहीलाई नारायणी, राप्ती, रिउ, कालिगण्डकी, कर्णालीसहितका विभिन्न नदीमा लगेर छोड्ने गरिएको छ। घडियाल प्रजनन केन्द्र स्थापनापछि २०३९ सालदेखि नै यहाँ हुर्काइएका घडियाललाई देशका विभिन्न प्रमुख नदीमा लगेर छोड्ने काम भइरहेको खड्काले बताए।

केन्द्रमा हुर्काइएकामध्ये हालसम्म एक हजार ५१५ वटा गोही प्रकृतिमा लगेर छोडिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए। केन्द्रमा हुर्किएकामध्ये सबैभन्दा धेरै गोही निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छोडिएको आचार्यले बताए। आचार्यका अनुसार हालसम्म राप्तीमा ८३५, नारायणीमा ३९९, बबईमा ११०, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा गोही छोडिएका छन्। निकुञ्जले छोडेको गोहीलाई र्‍याफ्टिङ डुङ्गा तथा काठे डुङ्गाको सहायताले समय सयमा अनुगमन गर्ने गरिएको छ।

हाल निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रमा ५०२ वटा गोही रहेका छन्। प्रजनन केन्द्रमा एउटा मात्रै वयस्क भाले घडियाल गोही रहेको छ। केन्द्रमा १३ वटा वयस्क घडियाल रहेका प्रमुख संरक्षण अधिकृत आचार्यले जानकारी दिए। उनका अनुसार केन्द्रमा उपवयस्क अवस्थाका १८, किशोरावस्थाका ३४३, साना बच्चा ६० र यस वर्ष जन्मिएका बच्चा ६८ वटा घडियाल गोही रहेका छन्।

प्रकाशित मिति : शनिबार, पुष १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij