काठमाडौं –सरकारले ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी थालेको छ। जसको लागि सरकारले खोप खरिद प्रकृयाको तयारी समेत अघि बढाएको छ।
५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले बताए। ‘५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई दिन मिल्ने खोप खरिदको पनि तयारी भएको छ’ उनले भने।
यो उमेर समूहका बालबालिकालाई पुग्ने गरी ८४ लाख डोज खोप खरिदका लागि प्रस्ताव पठाइएको समेत उनले जानकारी दिए। यदि खोप सल्लाहकार समितिले सिफारिस गरेर सरकारले तत्कालै निर्णय गरे छिट्टै खोप ल्याएर यो उमेर समूहलाई पनि लगाउन सकिने उनले बताए।
अहिले नयाँ उत्पादन भएको फाइजरको खोप ५ वर्ष माथि उमेरका बालबालिकालाई लगाउन मिल्ने भनिएको छ। यसअघि नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोर्डना र फाइजरको खोप दिइएको छ।
पछिल्लो समय भोलि पुस १३ गतेबाट काठमाडौं उपत्यका सहितका आठ वटा जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आगामी फाइजर खोप लगाउने भनिए पनि आवश्यक सिरिञ्ज नआइपुग्दा भोलिबाट लगाउने भनिएको खोप केही दिन ढिला भएको छ।
यो खोप सञ्चालनको लागि आवश्यक सिरिञ्ज पनि एक दुई दिन भित्रै आइपुग्ने चौरसियाले बताए। ‘पूर्व निर्धारित समय भन्दा ढिला खोप आएको हुँदा सिरिञ्ज आइपुग्न पनि केही दिन ढिला भएको हो, अब एक दुई दिनमै फाइजर खोप लगाउन मिल्ने सिरिञ्ज आइपुग्छ’ उनले भने।
प्रकाशित मिति : सोमबार, पुष १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्