चुनावका लागि ५० अर्ब रुपैयाँ बजेट माग भएकाे छ : अर्थ मन्त्री शर्मा

चुनावका लागि ५० अर्ब रुपैयाँ बजेट माग भएकाे छ : अर्थ मन्त्री शर्मा

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटमा चुनावका लागि विनियोजन गरिएभन्दा पाँच गुणा बढी रकम माग भएकाले मन्त्रालय दबाबमा परेको बताउनुभएकाे छ ।

आज बिहीवार अर्थ मन्त्रालयमा चालु आर्थिक वर्षकाे बजेटको अर्धवार्षिक समीक्षा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै उहाँले सरकारकले चालु आर्थिक वर्षको बजेटमा १० अर्ब रुपैयाँ छुट्याएको भए पनि माग भने ५० अर्ब रुपैयाँको आएको बताउनुभएकाे हाे ।

कार्यक्रममा अर्थ मन्त्री शर्माले चालु आर्थिक वर्षको बजेट आकार ८६ अर्ब रुपैयाँले घटाएको बताउनुभयाे ।  चालु आर्थिक वर्षमा सरकारले अघिल्लो सरकारले ल्याएको बजेट घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँकाे प्रतिस्थापन बजेट ल्याएको थियो । सरकारले अर्धवार्षिक समीक्षा गर्दै ८६ अर्बले घटाएर १५ खर्ब ४६ अर्ब रुपैयाँमा झारेको उहाँले उल्लेख गर्नुभयो ।

अर्थ मन्त्री शर्माले चालु आर्थिक वर्षमा विनियोजित बजेटको ९४ दशमलव ७ प्रतिशत अर्थात् १५ खर्ब ४६ अर्ब रुपैयाँ मात्र खर्च हुने जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षको समीक्षा गर्दै यो वर्ष पूर्ण आकारमा बजेट खर्च नहुने बताउनुभयो । चालु आर्थिक वर्षमा चालु खर्च १० खर्ब ३५ अर्ब ४६ करोड रुपैयाँ, पुँजीगत खर्च  तीन खर्ब ४० अर्ब ३२ करोड रुपैयाँ र वित्तीय व्यवस्थापनमा एक खर्ब ७० अर्ब ४९ करोड रुपैयाँ खर्च हुने अनुमान रहेको मन्त्री शर्माले बताउनुभयो । उहाँले पूर्वतयारी विना प्रतिस्थापन बजेट ल्याएकाले आर्थिक वर्षको ६ महिनाको अवधिमा पुँजीगत खर्च लक्ष्यअनुसार हुन नसकेको स्वीकार गर्नुभयो । पुँजीगत खर्च बढाउनका लागि अब सरकारले बजेट निर्माणको प्रक्रिया नै परिर्वतन गर्नुपर्ने उहाँको भनाइ छ ।

अर्थ मन्त्री शर्माले चालु आर्थिक वर्षको राजस्वको लक्ष्य र वैदेशिक अनुदान रकम परिचालको लक्ष्य घटाएर राजस्व र आन्तरिक ऋण १२ खर्ब ८९ अर्ब ८२ करोड रुपैयाँ, वैदेशिक अनुदान ५० अर्ब रुपैयाँ र वैदेशिक ऋण दुई खर्ब ६ अर्ब ४६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो ।

अर्थमन्त्री शर्माले भन्नुभयो, ‘कोभिड–१९ विरुद्धको खोप अभियानका कारण आर्थिक गतिविधिका कामहरू सामान्य हुँदै गएकाले विश्वको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिए पनि देशकाे आर्थिक वृद्धि दरमा समेत आर्थिक वर्षको बाँकी अवधिमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ । मुद्रास्फिति नियन्त्रणमा रहेको छ । चालु आर्थिक वर्षको ६ महिनामा गएकाे आर्थिक वर्षको तुलनामा निर्यात ९५ दशमलव ५ प्रतिशतले बढेको छ भने आयात ५१ दशमलव ३ प्रतिशतले बढेको छ । लक्ष्यअनुसार राजस्व सङ्कलन भएको छ । यो आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्य पूरा हुने अपेक्षा छ ।’

प्रकाशित मिति : बिहिबार, माघ २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij