प्रहरी संगठनलाई विवादमा तानेर चालबाजी गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजी गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं , केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणीहरूप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेले विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले आफ्नो संगठनलाई कमजोर बनाउने वा विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिने भन्ने सोच बनाएका सीमित व्यक्तिहरूको चालबाजीलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने जनाएका छन् ।

उनले विज्ञप्तिमा सार्वजनिक सुरक्षा, शान्ति अमनचयन कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रहरी संगठन प्रतिबद्ध र जिम्मेवार रहेको बताएका छन् ।

‘पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सृजना हुने, सुरक्षा जोखिमका साथै नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक छबि र निष्ठामा असर पर्न सक्ने भएकाले यस्ता अपुष्ट, भ्रामक, तथ्यहीन एवम् स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न नेपाल प्रहरी सम्पूर्ण सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछ,’ प्रहरीको विज्ञप्तिमा भनिएको छ ।

‘संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकार विरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका केही सीमित व्यक्तिहरूको चालबाजीलाई नेपाल प्रहरीले प्रचलित कानून बमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारको नीति निर्देशन अनुसार नागरिक प्रतिको विधिसम्मत जिम्मेवारी एवम् उत्तरदायित्व निर्वाह गर्न नेपाल प्रहरी सदैव समर्पित रहेको जारी विज्ञप्तिमा उल्ले छ ।

‘नेपाल प्रहरी कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको साथै यस्ता भ्रामक समाचार तथा स्वार्थ केन्द्रित टिप्पणीबाट विचलित नभई उच्च मनोबलका साथ एकतावद्ध हुदै काम गर्न नेपाल प्रहरीका सकल दर्जाका कर्मचारीहरुमा निर्देशन गर्दै आम नागरिकलाई प्रमाणित, आधिकारिक एवम् तथ्यमा आधारित समाचारमा विश्वास गर्न, अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न तथा जिम्मेवार सूचना सम्प्रेषणमा सहयोग पुर्‍याउन नेपाल प्रहरी सबैमा हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij