बुटवल , रुपन्देहीको बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्वामित्व तथा सञ्चालन जिम्मेवारी औपचारिक रूपमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई हस्तान्तरण गरिएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलिप भण्डारी तथा पूर्वाधार विकास मन्त्रीका सल्लाहकार मधु अर्यालको उपस्थितिमा आयोजित कार्यक्रमबीच सम्मेलन केन्द्र समितिलाई सुम्पिएको हो । सिनियर डिभिजन इन्जिनियर किर्तिकान्त साहले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश, २०८१ बमोजिम आवश्यक कागजातसहित उक्त संरचना समितिका कार्यकारी निर्देशक धर्मराज खड्कालाई हस्तान्तरण गर्नु भएको हो ।
हस्तान्तरण ग्रहण गर्दै कार्यकारी निर्देशक खड्काले सभाहललाई पारदर्शिता, सेवाग्राहीको अधिकतम सन्तुष्टि र उपलब्ध सम्पूर्ण स्रोत साधनहरूको हदैसम्मको उपयोग गरी सञ्चालन गरिने बताउनुभयो । उहाले वर्तमान सरकारको स्पिरिट र स्पिड अनुसार संरचनाको भरपुर, व्यवस्थित सञ्चालन तथा व्यवस्थापनमा जोड दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । चार वर्षअघि उद्घाटन भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अझै सञ्चालन हुन सकेको छैन । एक अर्ब ११ करोड रुपियाँ खर्च गरी आठ वर्ष लगाएर निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका १३ वटा सभा हलमध्ये अहिले एउटा ठूलो हल मात्र आंशिकरुपमा सञ्चालनमा छ । बाँकी १२ वटा सभा हल प्रयोगमा आउन सकेका छैनन् ।
तत्कालीन रुपन्देही २ का प्रतिनिधि सभा सदस्य एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवल १० रामनगरस्थित बुटवल मण्डपमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र र अन्तारष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको योजना अघि बढाएर कार्यान्वयनमा ल्याउनु भएको थियो । निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र पुर्व अर्थमन्त्री पौडेलले २०७९ भदौ ११ गते बुटवल मण्डपमा नेपालको झन्डा आकारमा निर्माण भएको सम्मेलन केन्द्रको उद्घाटन गर्नु भएको थियो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कसरी र कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा कार्यविधि बन्न ढिला हुंदा व्यवस्थित रूपमा सञ्चालनमा आउन सकेको थिएन । सम्मेलन केन्द्रको सरसफाइ, बिजुली पानी, हेरालु र कर्मचारीको खर्चबापत लाखौं रुपियाँ खर्च भएको छ । सम्मेलन केन्द्रको कार्यविधि स्वीकृतिका लागि २०७९ जेठमै सहरी विकास तथा भवन निर्माण विभागमार्फत सङ्घीय सहरी विकास मन्त्रालयलाई बुझाइएको थियो तर कार्यविधि स्वीकृत हुन ढिला भएको थियो ।
सम्मेलन केन्द्रमा चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था छ । त्यस्तै लिफ्टको सुविधासहित अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी भौतिक संरचना तयार पारिएको छ । सम्मेलन केन्द्र करिब साढे नौ बिघा क्षेत्रफलमा बनेको छ । सम्मेलन केन्द्रको मुख्य सभा हलमा ८७२ वटा कुर्सी जडान गरिएको छ भने सभा हलसहित छ वटा बैठक हल र दुई वटा बहुउद्देश्यीय हल भवन तयार भएको छ ।
उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष लोकनाथ पन्थीले बुटवलको गहनाका रूपमा रहेको सम्मेलन केन्द्र सञ्चालनका लागि निजी क्षेत्रले चासो देखाएको बताउँदै सरकारले छिटो सञ्चालनको वातावरण बनाउन आग्रह गरे ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्