तिलोत्तमामा एमालेको सुशासनको पर्दाफास :आफ्नो लगानीको तिलोत्तमा होम्स जाने सडकमा मेयर वासुले खन्याए करोडौं वजेट, हजारौं जनता हिंड्ने सडक अलपत्र

तिलोत्तमामा एमालेको सुशासनको पर्दाफास :आफ्नो लगानीको तिलोत्तमा होम्स जाने सडकमा मेयर वासुले खन्याए करोडौं वजेट, हजारौं जनता हिंड्ने सडक अलपत्र

बुटवल –अघिल्लो चुनावमा निर्वाचित भएपछि बसेको तिलोत्तमा नगरको पहिलो कार्यपालिका वैठकमा मेयर बासुदेव घिमिरेले मंगलापुर–कान्छीबजार सडक कालोपत्र गर्ने पहिलो निर्णय गरेका थिए । उनको ५ वर्षे कार्यकाल पूरा भयो तर उक्त सडक बाह्रैमास धुलाम्य र वर्षायाममा हिलाम्य भएर नगरवासीले चरम सास्ती खेपेका छन् ।
तर मेयर घिमिरेले केन्द्रीय सरकारबाट आफ्नो समेत निजी लगानी रहेको तिलोत्तमा होम्समा पुग्ने सडकलाई ४ करोड बढी वजेट ल्याएर पीच गर्ने तयारी छ । भलबारीबाट डेढ किलोमिटर मात्र दूरी रहेको उक्त सडक तिलोत्तमा होम्समा पुगेर टुंगिन्छ, त्यहाबाट उता सडकको गन्तब्य नै छैन । बरु नजिकै घडेरीका प्लटिङ छन् ।
मेयर घिमिरेसंगै उक्त हाउजिङ कम्पनीमा दुई जना एमाले कार्यकर्ता रहेका जग्गा ब्यापारीहरु विष्णुु भुसाल र नेत्रलाल वन सञ्चालक छन् ।
यसरी मेयर घिमिरेले सुशासनको खिल्ली उडाउंदै आफ्नो र पार्टी कार्यकर्ता समेतको निजी लगानीको हाउजिङ कम्पनीका लागि ४ करोड बढी वजेट खन्याएपछि उनको चर्को आलोचना हुन थालेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री भएका बेला माधव नेपाल समूहमा रहेका मेयर घिमिरेलाई निजी लगानीको हाउजिङमा जाने सडकलाई १० करोड वजेट दिने पक्का भएपछि घिमिरेले गुट परिवर्तन गरेका हुन् । मेयर घिमिरे तिनै व्यक्ति हुन् जसले केपी ओलीले पहिलोपटक संसद विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै देशभरका ७५३ पालिका मध्ये पहिलोपटक प्रेस विज्ञप्ति सार्वजनिक गरेका थिए । उनले विज्ञप्ति जारी गरेपछि उनीमाथि पार्टीभित्रैबाट चरम दबाब आएको थियो । सोही कारण दोस्रो संसद विघटनसम्म आइपुग्दा उनी आफ्नो अडान छाडेर सोही हाउजिङमा विषण्ु पौडेलले वजेट दिएको गुन तिर्न ओली गुटमा फर्केका हुन् । विगतमा माधव नेपाल पक्षमा हुंदा घिमिरेका राम्रा कामको समेत पाइला पाइलामा आलोचना गर्ने, असहयोग गर्ने र अहिले मेयरको टिकट नदिन रोल खेल्ने पार्टीभित्रकै नेताहरु अहिले भने घिमिरेको हाइहाइ गरिरहेको देखेर एमालेकै कतिपय इमान्दार नेता कार्यकर्ताहरु अचम्मित छन् ।
एमालेप्रति नगरवासी रुष्ट
नगरका थुप्रै जीर्ण सडकहरुलाई अलपत्र छाडेर आफूसहित निजी कम्पनीलाई फाइदा हुने परियोजनामा राज्यको करोडौं वजेट खन्याएको विषय बाहिर आएपछि मेयर घिमिरे र एमाले पार्टीप्रति नगरवासीहरु रुष्ट भएर चिढिएका छन् । तिलोत्तमा कान्छीबजारका त्रिभुवन मल्लले मंगलापुर कान्छीबजार सडकलाई पीच गर्ने नगरपालिकाले पहिलो वैठकबाट निर्णय गरेको खबर सुनेर खुशी भएपनि अहिलेसम्म कामै शुरु नभएको तर मेयरको आफ्नो लगानीको हाउजिङको सडकमा बजेट पार्नु आपत्तिजनक भएको बताए । ‘तिलोत्तमा नगरपालिका सुशासनमा पुरस्कृत भयो भन्ने पनि सुनियो,तर एमालेको सुशासन के रहेछ भनेको त हजारौं जनता हिंड्ने जीर्ण सडक पीच गर्न छाडेर आफ्नो प्राइभेट हाउजिङको बाटामा वजेट पार्र्ने पो रहेछ’–उनले आक्रोश पाख्दै भने–‘यस्तो हुनुमा मेयरको संगै त्यति बेलाका अर्थमन्त्री विष्णु पौडेलको रोल पनि हुनुपर्छ किनकी वजेट दिने शर्तमा मेयरलाई आफ्नो गुटमा ल्याएको कुरा छ ।’ मल्लले तिलोत्तमामा नगरपालिकाले लिने करहरुमा पनि चर्को बृद्धि गरेर नगरवासीको ढाड सेक्ने काम मात्रै गरेको बताए ।
कान्छीबजारकै विष्णु रणपाल नगरपालिकाले प्रचार एउटा काम अर्कै गर्दा नगरवासीले सास्ती पाएको गुनासो गर्छन् । ‘सडक पीच नहुंदा धुलो र हिलोले पसलका सामान मात्रै हैन, हाम्रो स्वास्थ्य पनि बिग्रियो, ब्यापार पनि चौपट भयो’–उनले भने–‘पहिला एमाले नेताहरु आएर भाषण गर्दा पत्याइन्थ्यो अब त विश्वासै लाग्न छाड्यो ।’
भलबारीका अर्जुन पराजुलीले नगरका धेरै पुराना भित्री सडकहरु वर्षौंलदेखि जीर्ण हुंदा मर्मत र पीच गर्न प्राथमिकतामा नपर्ने तर आफ्नो निजी हाउजिङको ब्यापार गर्न सरकारी वजेट दुरुपयोग गरिएको टिप्पणी गरे । ‘यो सरासर सुशासनविरुद्धको हर्कत हो, पद र अख्तियारको दुरुपयोग हो’–उनले भने–‘यो विषय मेयर र तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको मात्र नभई एमाले प्रवृत्ति हो भन्ने लाग्छ, यसको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गर्नुपर्छ ।’ लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिमार्फत ६ विगाहा क्षेत्रफलमा तिलोत्तमा होम्स बन्दैछ । सरकारको स्मार्ट आवास सेवाको अवधारणा अनुसार नगरपालिकाको सहजिकरणमा परियोजना शुरु भएको प्रालिका अध्यक्ष नेत्रलाल बनले यसअघि भएको पत्रकार सम्मेलनमा बताएका थिए ।
ग्रुप ए र बि गरि कुल १ सय २३ वटा साढे २ तलाका घरहरु निर्माण हुने छन । ग्रुप एको एउटा घरको २ करोड ५० लाख र ग्रुप बीको एउटा घरको एक करोड ७५ लाख मूल्य कायम भएको सेल्स एण्ड मार्केटिङ म्यानेजर सुदीप ढकालले बताए ।

 

 

प्रकाशित मिति : आइतबार, बैशाख २५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij