पाल्हिनन्दन गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी

पाल्हिनन्दन गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी

बुटवल – पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । साझेदारी व्यापारको एक करोड बढी रकम हडप्ने उद्देश्यले प्रहरीको मिलेमतोमा दुई भारतीयलाई योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाएको आरोपमा गुप्तालाई पक्राउ पुर्जी जारी भएको हो ।

पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन् । उनी फरार भएपनि एक हप्ताभित्र मुद्दा दर्ता गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।

अनुसन्धानको क्रममा गुप्ताकै योजनामा भारतीय नागरिकलाई नक्कली मुद्दा चलाउन खोजेको पुष्टि भएको सरकारी वकिल कार्यालयका एक अधिकृतले जानकारी दिए । सो घटनामा पक्राउ परेका गुप्ताका सहयोगी पूर्व नगर प्रहरी रघुनाथ धोबीको बयान र अन्य प्रमाणका आधारमा उनको संलग्नता देखिएको हो ।

गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुरर्फिन र फेनार्गन लागुऔषध बरामद भएको प्रहरीको दाबी थियो ।

छानबिनका क्रममा घटना विवरण नै बनावटी भएको र उनीहरू निर्दोष देखिएको प्रहरी उच्च स्रोतले बताएको छ । तर उनीहरु दुई महिनादेखि प्रहरी हिरासतमा छन् ।

अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

थुनामा रहनुभन्दा अघि गुप्ता र पासवानले अध्यक्ष गुप्तासँग कवाड सामानको कारोबार गर्दै आएका थिए । तर, नाफाको २० प्रतिशत रामा गुप्तालाई दिने सहमतिलाई बेवास्ता गर्दै रकम दिन आलटाल गर्दै आएका थिए । रामा गुप्ताले अध्यक्ष बैजुप्रसादबाट एक करोड ३३ लाख रुपैयाँ पाउनुपर्ने थियो । सोही रकम हडप्नकै लागि गाउँपालिका अध्यक्षले आर्थिक चलखेल गरेर नवलपरासी प्रहरी प्रमुख ऋषिराम कंडेललाई समेत प्रभावित गरेर भारतीयलाई लागूऔषध मुद्दामा फसाएको आरोप छ ।

पालिका अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । थुनामा रहेका गुप्ता र पासवान निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न र गाउँपालिका अध्यक्षलाई पक्राउ गरी उनीमाथि छानबिन गर्न थुनामा रहेका भारतीयको परिवार, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नवलपरासीले माग गर्दै आन्दोलन समेत गरेका थिए ।

आर्थिक चलखेल गरेर गाउँपालिका अध्यक्ष गुप्ताका सहयोगीलाई बयान फेर्न लगाई उनैलाई मात्र दोषी देखाएर गाउँपालिका अध्यक्षलाई उन्मुक्ति दिन खोजिएको भन्दै उनीहरूले प्रहरी प्रशासनमाथि आशंका गरेका थिए । ‘गाउँपालिका अध्यक्षसँग १३ करोडको कारोबार गरेका थियौं, कारोबारको २० प्रतिशत नाफा हामीले पाउने सहमति थियो,’ रामा गुप्ताका एक नातेदार सञ्जय शाहले भने, ‘हामीले पाउनुपर्ने एक करोड ३३ लाख रकम नदिन अध्यक्षले धेरै समय आलटाल गरेका थिए, त्यसदिन पिपरहियामा बोलाए, पैसा दिने होला भनेर गएको भिनाजुलाई फसाउन रहेछ । यसरी अन्यायमा पारेको बेला उल्टो मुद्दा लगाएर फसाउन खोजिएको छ । ’

शाहका अनुसार भिनाजु रामा गुप्ता र पासवान मोटरसाइकल बाहिर राखेर चिया पसलभित्र बसेको बेला गाउँपालिका अध्यक्षको निर्देशनमा उनका सहयोगी धोबीले उक्त मोटरसाइकलमा लागुऔषधको झोला राखिदिए । त्यसपछि गाउँपालिका अध्यक्षले नै प्रहरीलाई सूचना दिएर पक्राउ गराएको शाहको दाबी छ ।

गाउँपालिका अध्यक्ष गुप्तासँग रामाले १२ वर्षदेखि कवाड कारोबार गर्दै आएका थिए ।

निर्दोषलाई फसाएको भन्दै नवलरासीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले माथिल्लो प्रहरी निकायमा जानकारी गराएपछि प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान टोली खटाएको थियो । घटनाको अनुसन्धानपछि प्रहरी टोलीले समेत निर्दोष व्यक्ति थुनामा परेको उल्लेख गरेको प्रहरी स्रोतले बताएको छ ।

प्रकाशित मिति : सोमबार, भाद्र २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij