काठमाण्डाै – सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलमा आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि सिट बाँडफाँट मिलाउन सकस देखिएको छ ।
गठबन्धनमा चुनावी तालमेल गरेर जाने निर्णय भए पनि सिट बाँडफाँटको निर्णय भइसकेको छैन । कार्यदलको बैठक आज पनि बस्दैछ । गठबन्धनमा आबद्ध दलहरुले चुनावी तालमेल र सिट सङ्ख्या टुङ्गो लगाउनेबारेको खाका बनाउन कार्यदल गठन गरेका थिए ।
कार्यदलमा रहेका नेताहरुले सहमति नजिक पुगेको दाबी गर्दै आएका छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन हुनुहुन्छ ।
यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य हुनुहुन्छ ।
कार्यदलका सदस्य एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १ सय ६५ चुनाव क्षेत्रमा कसको के पोजिसन छ, त्यसबारेमा छलफल भइरहेको र आज पुनः छलफल गरी टुङ्गोमा पुग्ने जानकारी दिनुभयो।
प्रकाशित मिति : मंगलबार, भाद्र २१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्