भैरहवा– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको निर्बाचनप्रति केन्द्रित हुँदै आउँदो मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म नेपाल–भारत बीचको सीमा नाका बन्द गरिने भएको छ । रुपन्देहीको छपियामा सम्पन्न नेपाल–भारत सीमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले मंसिर १ गते रातिदेखि मंसिर ४ गते रातिसम्म सिमाना बन्द गर्ने निर्णय गरेको हो ।
बैठकमा नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरु र भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगञ्ज जिल्लाका डिष्ट्रिक मजिष्टे«डसहित सुरक्षा प्रमुखहरु सहभागी थिए ।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमावर्ती सुरक्षा समस्याहरुलाई सम्बोधन गर्न बैठक बसेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको प्रेस बिज्ञप्तीमा जनाइएको छ ।
बैठकमा सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखन नियन्त्रणका वारेमा जनचेतनाका कार्यक्रम संचालन, निगरानी तथा सुरक्षा उपायहरु अपनाउने, नक्कली नोट नियन्त्रण लगायतका साझा सवालका विषयमा विभिन्न निर्णय गर्दै दुवै पक्षबाट कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।
प्रकाशित मिति : शनिबार, कार्तिक १९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्