राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै, आज सार्वजनिक बिदा

राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै, आज सार्वजनिक बिदा

काठमाण्डाै – आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ सालको वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।

दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिएको छ ।

सरकारले आज सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक समृद्धिलाई अबको मूल लक्ष्य बनाउनुपर्ने बताउनुभएको छ । उहाँले राज्यशक्तिको सम्पूर्ण स्रोत नागरिक नै हुन् भन्ने मान्यतामा आधारित रहेर लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताउनुभयो । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र प्राप्ति र त्यसपछि भएका आन्दोलनका उपलब्धिको संरक्षण तथा रक्षाका लागि सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत् समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताउनुभएको छ । उहाँले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप नागरिकको अवस्था बदल्न दृढ प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।

दिवसका अवसरमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले पनि शुभकामना व्यक्त गरेका छन् । यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि शुभकामना दिँदै राजनीतिक दल र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्न नहुने उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij