दाङ : नेपाल सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले ज्यानको बाजी राखेर ल्याएको व्यवस्थामा अहिले विभिन्न तवरबाट प्रहार भएको बताइन्।
प्रेस सेन्टर दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा रहेको र यो प्राप्तिका लागि निःस्वार्थ तथा निर्भीक रूपमा ज्यानको बाजी राखेर ल्याएको व्यवस्थामा अहिले संसद् भित्र र बाहिर जुनसुकै ठाउँबाट प्रहार भइरहेको बताइन्।
उनले भनिन्, ‘यो व्यवस्थामाथि प्रहार भइरहेको छ। हामीले के बुझेका छौँ भने शासक वा सरकारको कमी कमजोरी व्यवस्थाको कमजोरी होइन।’
उनले सरकारमा हुने मान्छेको कमी कमजोरीलाई अतिरञ्जित गरी त्यसको प्रहार व्यवस्थामा हुन लागेकोमा भन्दै आपत्ति जनाइन्।
अहिलेको व्यवस्थालाई अझ उत्कृष्ट बनाउने र यसमाथि भएका प्रहारविरुद्ध सबै एकै ठाउँमा उभिने विषयमा उनको भनाइ थियो। उनले अहिलेको सरकारले अझै पूर्णता नपाएको समेत बताइन्।
उनले भनिन्, ‘सरकारले सेवा प्रवाह तथा कानुन निर्माणको क्षेत्र तथा अरू विषयमा काम अघि बढाएको छ। त्यो नै एउटा आशालाग्दो रहेको छ।’
मिटर ब्याजपीडितको समस्या, वैदेशिक रोजगारीमा जाने मजदुरहरूलाई सामाजिक सुरक्षामा आबद्ध गर्ने कार्यक्रम, कृषिका क्षेत्रमा गरेर निर्णयहरू, राहदानी, नागरिक प्राप्त गर्ने कुरा गरेका पहल तथा प्रयत्नबाट निस्केका परिणाम आशालाग्दो रहेको उनको दाबी छ।
उनले देशको आर्थिक अवस्था नाजुक रहेको भन्दै अर्थतन्त्र सबलीकरण गर्न सरकारको गम्भीर चासो र चिन्ता रहेको समेत उल्लेख गरिन्।
उनले भनिन्, ‘अधिकांश स्थानमा अनावश्यक कर्मचारी भर्ती हुँदा खर्च बढेको, अनुत्पादक क्षेत्रमा बजेट खर्च हुँदा राज्यलाई व्ययभार बढेको छ। नागरिकलाई लाभ हुने आयोजनाभन्दा विकासे आयोजनामा बजेट परेको जस्ता समस्या र गुनासो आएको हुँदा अत्यावश्यक बाहेकका ठाउँमा कर्मचारी कटौतीदेखि कम लागतमा बढी प्रतिफल दिने क्षेत्रमा सरकारले बजेट विनियोजन गर्न गरी प्रक्रिया अघि बढाएका छौँ।’
उनले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन, सीमा समस्या समाधान गर्न, राज्यको शासन प्रणाली व्यवस्थित बनाउने सवालमा पनि सर्वदलीय सहमति जुटाउने काम भइरहेको बताइन्।
उनले शान्ति प्रक्रिया ६ महिनाभित्र टुंग्याउने भन्ने सम्झौता भए पनि १६-१७ वर्षसम्म नटुंगिँदा त्यसबाट प्रभावित तथा पीडितहरू र नेपाली समाजमा नकारात्मक प्रभाव परेको समेत बताइन्। उनले त्यसलाई यथाशीघ्र टुङ्ग्याउन संसद्मा विधेयक पेश भएको भन्दै यसलाई निष्कर्षमा पुर्याउने पनि बताइन्।
यस्तै उनले घोराही-तुलसीपुर चारलेन सडक आयोजनाको काम नयाँ ढंगबाट थालनी गर्ने प्रक्रिया अघि बढेको समेत बताइन्। उनले भारतीय एक्जिम बैंकको लगानीमा भारतीय निर्माण कम्पनीबाट सडक निर्माण गर्दा समस्या भएको जनाउँदै उक्त आयोजनाको काम चाँडै नयाँ ढंगबाट प्रक्रिया अघि बढाउने गृहकार्य शुरु गरेको बताइन्।
उनले अहिलेसम्म ९ वटा ठेकेदारलाई काम गर्न लगाउँदा पनि प्रगति नदेखिएको हुँदा ठेक्का रद्द गरी काम अघि बढाइएकाले असारअगावै चार लेन सडक निर्माण अघि बढाउन सकिने विश्वास दिलाइन्।
काम नहुँदा अस्तव्यस्त र जीर्ण बनेको सडक निर्माण कम्पनीले काम नगर्दासम्म सरकारले बजेट विनियोजन गरेर सडक मर्मत गर्ने उनको भनाइ छ।
प्रकाशित मिति : बिहिबार, बैशाख १४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्