मूलधारबाट वञ्चित नागरिक नै लोकतन्त्रको सच्चा पहरेदार : राष्ट्रपति पौडेल

मूलधारबाट वञ्चित नागरिक नै लोकतन्त्रको सच्चा पहरेदार : राष्ट्रपति पौडेल

 काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले १६औं गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले दिएको शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेतृत्वप्रति सम्मान तथा यसमा सहभागी राजनीतिक कार्यकर्ता, नागरिक समाजका अगुवालगायत सबैको योगदानको उच्च प्रशंसा गरेका छन् ।

सन्देशमा भनिएको छ, ‘नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झना चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ । कुनै एक वंश विशेषमा ज्येष्ठताको आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो बहुलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रको प्रमुख विशेषता हो ।’

उनले गणतन्त्रले उद्देश्यअनुसारको राजनीतिक आचरण र चरित्र खोजेको कुरालाई बिर्सेमा अग्रजहरूको लामो सङ्घर्ष तथा नागरिकको ठूलो बलिदानप्रति नै अपमान गरेको ठहर्ने बताएका छन् ।

”लोकतन्त्रका लागि भएका आन्दोलनको मुख्य वाचा ‘शासन प्रणाली हावा, पानी माटो सुहाउँदो होइन जनता सुहाउँदो हुनुपर्छ र त्यसले जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्छ’ भन्ने थियो । आन्दोलनमा जनतालाई सहभागी हुन तिनताका गरिएका वाचाहरूमा हाम्रो ध्यान कति पुग्न सक्यो कि सकेन भनेर वर्तमानमा आत्मसमीक्षा गर्न जरुरी छ ‘, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन् ।

जनताको अधिकारका लागि एउटै पुस्ताले तीन/तीन पटक सङ्घर्ष र आन्दोलन गर्नुपरेको इतिहास संसारमा विरलै रहेको भन्दै सत्तरी वर्ष सङ्घर्ष गरेर देशमा एउटा प्रणालीको टुङ्गो लगाएको शुभकामना सन्देशमा उल्लेख छ ।

‘जनताको हातमा अधिकार पुगेको छ । देश ग्रामीण विकासको बाटोमा अग्रसर छ । वडा तहदेखिकै हजारौँ जनप्रतिनिधिमार्फत राज्यसत्तामा जनताको पहुँच र अधिकार स्थापित भइरहेको छ । समावेशी व्यवस्था कायम भएको छ । केही व्यक्ति विशेषका आचरण र व्यवहारलाई लिएर जनताको व्यवस्थामाथि नै आँच पु¥याउने गतिविधि र बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन’, शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको घर आँगनमा सेवा, सुविधा र विकास पुर्‍याउन सर्वोत्कृष्ट माध्यमको काम गर्ने बताउँदै राष्ट्रपति पौडेलले देशको वर्तमान परिस्थितिले त्यसलाई प्रमाणित गर्नुपर्ने मुख्य चुनौती देखिएको बताएका छन् ।

शुभकामना सन्देशमा उनले भनेका छन्, ‘यो चुनौतीको सामना गर्न शासन प्रणालीको पारदर्शिता, जनताप्रति जवाफदेही राज्यप्रणाली, सुशासन, जनसहभागितासहितको विकास प्रक्रिया, सामाजिक न्याय, अवसरको न्यायोचित वितरण, रोजगारीमा तीव्र वृद्धि र सेवा प्रवाहमा चुस्तता अनिवार्य आवश्यकता हो । यसका लागि आदर्शप्रेरित, सिद्धान्तनिष्ठ राजनीति, आचरणशील तथा उच्च नैतिक राजनीतिक नेतृत्व पहिलो सर्त हो ।’

राष्ट्रपति पौडेलले विपन्न, निमुखा र मूलधारबाट वञ्चित नागरिक नै लोकतन्त्रको सच्चा पहरेदार भएको बताएका छन् । शुभकामना सन्देशमा उनले भनेका छन्, ‘उहाँहरूको उत्थान नहुँदासम्म समृद्ध नेपाल निर्माण हुँदैन भन्ने कुरालाई ध्यानमा राखी हाम्रा नीति तथा योजनाहरू त्यसैमा केन्द्रित होऊन् भन्ने म चाहन्छु ।’

उनले श्रमशक्ति पलायन हुन रोक्नका लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नपर्ने बताएका छन् । ‘मुलुकको आजको सबैभन्दा दारुण दृश्य भनेकै युवा पुस्ताको विदेश पलायनको लहर हो । सक्षम युवा विदेसिँदा देशलाई चाहिने जनशक्तिको अभावबाट मुलुकले ठूलो मूल्य चुकाउनुपर्छ भन्ने हेक्का समयमै राखेर उनीहरूलाई स्वदेश फर्कने वातावरण तयार गर्न ‘गाउँबाट विचलित भइरहेको मनलाई गाउँमा नै सेवा सुविधा पुर्‍याएर गाउँमा नै बसौँ–बसौँ बनाउने’ वातावरण तयार गर्न आवश्यक छ’, शुभकामना सन्देशमा उनले भनेका छन्, ‘श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरी उत्पादन, रोजगार र उद्योगधन्दासहितको अवस्था सृजना गर्ने विकास प्रयासको थालनी आजको सबैभन्दा ठूलो आवश्यकता हो । यसका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्यमान्यतालाई नीति निर्माण तह र नेतृत्वमा बसेका सबैले जीवनशैली र संस्कारका रूपमा व्यवहारतः अपनाउनुपर्ने खाँचो छ ।’

राष्ट्रपति पौडेलले राजनीति नाफा, नोक्सानको हिसाबकिताब मिलाउने पेसा, व्यवसायजस्तो होइन यो त विशुद्ध समाजसेवा हो भन्ने भावना हामी सबैमा जागृत नभएसम्म राजनीतिक नेतृत्वमा पनि गलत प्रवृत्ति र प्रभाव रहिरहने बताएका छन् ।

उनले शुभकामना सन्देशमार्फत राजनीति देश र जनताप्रति समर्पित हुने सेवाभाव हो भन्ने प्रमाणित गर्ने गरी आफ्ना आचरणहरू परिवर्तन गर्न तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था तथा बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक प्रणालीको माध्यमद्वारा राष्ट्रियता र राष्ट्रिय एकता प्रवर्द्धन गर्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij