काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
हिजो बेलुका नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले गरेको समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गर्नुभयो ।
सरकारले नीतिगत कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै उहाँले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको बताउनुभयो ।
उहाँले सरकारले लगानीकर्ताको हितका लागि एकल बिन्दु सेवा केन्द्र, लगानीमैत्री कानुन तथा विशेष आर्थिक क्षेत्र निर्माण गरेर धेरैभन्दा धेरै सहजीकरण गरेको उल्लेख गर्नुभयो । नेपालको ऊर्जा, भौतिक पूर्वाधार, उत्पादनमूलक क्षेत्रमा लगानीका लागि आग्रह गर्दै उहाँले नेपालमा लगानीकर्ता प्रतिफल ल्याउन कुनै समस्या नपर्ने, भाषाको समस्या नरहेको र समान सांस्कृतिक एवं बलियो सम्बन्धले थप सहज बनाउने बताउनुभयो ।
भारतीय कम्पनीको लगानी रहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना सफलरुपमा अन्तिम चरणमा पुग्न लागेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले पश्चिम सेती, सेती नदी (एसआर ६), तल्लो अरुणलगायतका आयोजनाले दुवै देशको अधिकतम हित गर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतका सङ्घीयमन्त्री पीयूष गोयलले नेपाल र भारतबीचको सम्बन्ध अद्विप्तीय रहेको बताउनुभयो ।
सीमा, भूराजनीतिले दुई देशबीचको सम्बन्धलाई विभक्त गर्न नसक्ने उल्लेख गर्दै उहाँले आफूहरु एकै परिवारका सदस्यका रुपमा रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड भारतका समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा चार दिने भारत भ्रमणमा हुनुहुन्छ ।
प्रचण्ड अस्ति बुधवार भारत जानुभएको हो । हिजो दिनभर उहाँ उच्चस्तरीय भेटघाट र औपचारिक वार्तामा व्यस्त हुनुभयो । त्यसक्रममा विभिन्न ७ वटा सम्झौता र समझदारी भएका छन् । आज पनि भेटघाट र छलफलका कार्यक्रम रहेका छन् । प्रचण्डसहित प्रतिनिधिमण्डल भोलि बेलुका स्वदेश फर्किने कार्यक्रम छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्