मेरा असल छिमेकी

मेरा असल छिमेकी

निकै असल छन् मेरा

कहिलेकाही बाटोमा जम्काभेट हुँदा

मुसुक्क मुस्कुराउँदै

बाको खबर सोध्छन्

आमाको सन्चोबिसन्चो सोध्छन्

मेरा भाइबहिनीहरु

स्कुल गएनगएको चासो लिन्छन्

बास्तबमा उनी निकै सफा मनका छन्

यी र यस्ता छिमेकी हुनुमा म गर्वित छु ।

कहिलेकसो

हाम्रो आगनसँग जोडिएको

बाटोहुँदै कतै जानुपर्दा  वा फर्किनुपर्दा

एकछिन टक्क अडिन्छन्

र बाको नामै काढेर बोलाउँदै

कुसलक्षेम सोध्छन् ।

उनी ससाना नेता पनि हुन्

गाउँटोलको विकासको कुरो गर्छन्

सबैखाले विभेद र कुसंस्कारको विरोध

गर्छन्

मानिसको दुई जात हुन्छ

एक नारी अर्को पुरुष उनको थेगो हो

विभेद मान्छेले गरेको हो

मान्छेले नै हटाउनुपर्ने तर्क गर्छन्

मेरा छिमेकी असलमा पनि महाअसल

छन् ।

भासणमा निपुण छन् मेरा छिमेकी

व्यबहारमा त्यत्तिकै खारिएका पनि छन्

कम्युनिस्टको घरमा जाँदा

कांग्रेसको कटु आलोचना गर्छन्

कांग्रेसकोमा जाँदा कम्युनिस्टको

घाँटी सुकाएरै चर्को विरोध गर्छन्

आफ्नो कुनै निश्चित आम्दानीको बाटो छैन

तर पनि हरेकवर्ष ठाउँ ठाउँमा

घरखेत जोर्छन्

सबैभन्दा असल हुनुको प्रमाण चाहिँ

मैले भन्दा, तपाईं सुन्दा अचम्म लाग्ला

जातपात, ठुलोसानोको चर्को विरोध गर्ने

मेरा असल छिमेकीले

छोराको न्वारान, पास्नी, जनेउधारण

र कसार बाट्दा मेरी आमालाई

निम्तो गर्न चटक्कै बिर्सन्छन् ।

देश समाजले गहन मुल्यांकन गरेर नै होला

मेरा यी महाअसल छिमेकीले

समय समयमा मानपदवी

र अलंकारको भारी बोकेर

टोलमा मिठाइ बाँड्दै हिड्छन् ।

२१ जेष्ठ, २०८० बुटवल ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij