तिहार सकियो, छठ पर्वको रौनक शुरु

तिहार सकियो, छठ पर्वको रौनक शुरु

काठमाण्डौ – यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका थिए । यस्तै, दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए । भाइटिकासँगै झिलिमिली पर्व तिहार सकिएको छ ।

यसैबीच, तिहार सकिएसँगै छठ पर्वको रौनक शुरु भएको छ । विशेषतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिईन्छ । यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन् ।

छठमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला किन्न अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेशका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।

तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको भिडभाड छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् ।

अहिले छठपर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेका छन् ।

छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ । केही भारतीय नागरिकसमेत नेपाली बजारमा छठका लागि माटोका भाँडो बिक्री गर्न आउन थालेका छन् । धनुषाको जनकपुरधामसहित महेन्द्रनगर सखुवा, ढल्केवर, वटेश्वर, धारापानी, वीरेन्द्रबजार, सबैला, सहिदनगरको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन्।

सांस्कृतिक पर्वमा प्रायजसो भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने प्रजापति समुदायको व्यस्तता निकै बढेको छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक ३० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij