भ्रष्टाचारीलाई कारबाही गर्न हदम्याद राख्न नहुने सांसदहरूकाे सुझाव

भ्रष्टाचारीलाई कारबाही गर्न हदम्याद राख्न नहुने सांसदहरूकाे सुझाव

काठमाण्डाै – सांसदहरूले देश विकासको बाधक मानिएको भ्रष्टाचार निर्मूल पार्न यससम्बन्धी कसुरमा संलग्नलाई हदैसम्मको सजायको व्यवस्था गर्नु अत्यावश्यक भएकामा जोड दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतकाे राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूले भ्रष्टाचारजन्य कसुरको कारबाहीमा पाँच वर्षे हदम्याद राख्न नहुने धारणा राखे ।

सांसद नारायणी शर्माले भ्रष्टाचार, अनियमिततामा संलग्न व्यक्तिलाई अनुसन्धान गरी कारबाही गर्न कुनै हदम्याद राख्न नहुनेमा जोड दिनुभयो । ‘जहिले भ्रष्टाचार तथा अनियमितता भएको थाहा हुन्छ, त्यति बेला पनि कारबाही गर्ने बाटो खुला राख्नुपर्छ’, उहाँले भन्नुभयो, ‘भ्रष्टाचारीलाई कारबाही गर्न हदम्याद राख्न हुँदैन ।’

सांसद अर्जुननरसिंह केसीले पाँच वर्षपछि भ्रष्टाचारको मुद्दा नचल्ने प्रावधान हटाइनुपर्ने बताउनुभयो । उहाँले नीतिगत निर्णयका आधारमा गरिने भ्रष्टाचारलाई निर्मूल गर्न विधेयकमा यससम्बन्धी निर्णयको स्पष्ट व्याख्या हुनुपर्नेमा जोड दिनुभयो ।

राज्य व्यवस्था समितिमा छलफल भइरहेको याे विधेयकमा भ्रष्टाचारजन्य कसुरमा त्यस्ता कार्य भएको थाहा पाएको पाँच वर्षभित्र मुद्दा चलाउनुपर्ने हदम्यादसहितको व्यवस्था राखिएको छ ।

सांसद ज्ञानु बस्नेत सुवेदीले भ्रष्टाचारमा संलग्नलाई दिइने दण्ड सजायलाई कडा बनाइनुपर्नेमा जोड दिँदै भ्रष्टाचारका ठूला घटनामा संलग्नलाई जन्मकैदको व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो ।

सांसद रञ्जुकुमारी झाले एकपटक भ्रष्टाचारी प्रमाणित भएको व्यक्ति सधैँको भ्रष्टाचारी हुने भन्दै त्यस्तो घटनामा संलग्नलाई कडा सजायको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । ‘भ्रष्टाचार गम्भीर अपराध हो, त्यस्ता कार्यमा संलग्न व्यक्तिका लागि यो बानी पनि हो । तसर्थ गलत बानी सुधार गर्न र अरूलाई सजग बनाउन कडा साजयको व्यवस्था गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

सांसद रोशन कार्कीले भ्रष्टाचार निवारणका लागि राजनीतिक प्रतिबद्धता र कार्यान्वयन अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । ‘भ्रष्टाचारीप्रति दया, माया नगरौँ, कठोर बनौँ’, उहाँले भन्नुभयो, ‘भ्रष्टाचारमा संलग्नलाई जुनसुकै बेला पनि कारबाही हुने प्रावधान राख्नुपर्छ ।’

सांसद सोविता गौतमले भ्रष्टाचारजन्य कसुरमा शून्य सहनशीलता कायम गर्नुपर्नेमा जोड दिँदै भ्रष्टाचार भएको रकमअनुसार जरिबाना र कैद सजायको व्यवस्था गर्नु उपयुक्त हुने बताउनुभयो । उहाँले एक अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गर्नेलाई २० वर्ष वा ऊ जीवित रहेसम्म कैद सजायको व्यवस्था राख्न सुझाव दिनुभयो ।

सांसद श्यामकुमार घिमिरेले निजी क्षेत्रलाई पनि भ्रष्टाचारसम्बन्धी अनुसन्धानका दायरामा ल्याउन नहुने धारणा राख्दै यसबाट निजी क्षेत्र हतोत्साहित हुने दाबी गर्नुभयो । ‘कठोर सजाय दिएर मात्रै भ्रष्टाचार निवारण हुँदैन, यसबाट लोकतन्त्र झन् कमजोर हुन्छ’, उहाँले भन्नुभयो ।

सांसद मनिष झाले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय अभिसन्धि अनुकूलका व्यवस्था राखेर विधेयक संशोधन गरिनु उपयुक्त हुने सुझाव राख्नुभयो । सांसद नागिना यादवले भ्रष्टाचारीलाई हदैसम्मको कारबाही हुनुपर्ने मान्यतामा रहेर कडा दण्ड सजायको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । सांसद प्रेम सुवालले अत्यधिक सम्पत्ति मोहले पनि भ्रष्टाचारका घटना बढेको दाबी गर्दै सरकारी राजस्व दुरुपयोग गरी अनावश्यक संरचना निर्माण गर्ने विषयलाई पनि भ्रष्टाचारको स्वरूप मान्नुपर्ने बताउनुभयो ।

अख्तियारका पदाधिकारीसँगको छलफलपछि मात्रै दफावार छलफल

बैठकमा सांसद हृदयराम थानीले दफावार छलफल प्रारम्भ हुनुअअघि नै विधेयकका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग छलफल गर्नु उचित हुने धारणा राख्नुभएको थियो ।

समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँगको छलफलपछि विधेयकमाथि दफावार छलफल अघि बढाइने जानकारी गराउनुभयो । समितिको आजको बैठकले विधेयकको प्रस्तावना र नाम पारित गरेको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखकले समितिको संशोधन सरकारलाई स्वीकार्य भएको उल्लेख गर्दै समितिबाट यथाशीघ्र टुङ्ग्याइदिन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : आइतबार, साउन २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij