बुटवल
लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ । ६ अर्ब १८ करोड बढिको लागतमा निर्माण हुने अस्पताल लुम्बिनी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको छ ।
प्रदेश सरकारको चार वटा गौरवको आयोजना मध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण महत्त्वपूर्ण आयोजनाको रुपमा रहेको छ । नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले भवनको शिलान्यास गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकार स्थापना भएपछि प्रदेश सरकार मातहतमा आएको प्रादेशिक अस्पताल लुम्बिनीको स्तर बृद्धि र अत्याधुनिक नयाँ भवन निर्माणको प्रयास सुरु भएको थियो । संस्थापक मुख्यमन्त्री शंकर पोख्रेल हुदै अघि बढेको अस्पतालको नयाँ भवन बनाउने प्रक्रिया वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले पूरा गरेका हुन् ।
२०७६ सालमा तत्कालीन सरकारले ड्रिम प्रोजेक्टको रुपमा अघि बढाउने प्रक्रिया थालेको थियो । लुम्बिनी प्रदेशका बिरामी बिशेषज्ञ उपचार सेवा लिन काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नेगरी लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार दुई सय र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ६ सय श्ययाको अस्पताल बनाउने प्रक्रिया अघि बढेको थियो ।
प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको लागि चालू आर्थिक बर्षमा एक अर्ब ८० करोड बजेट समेत बिनियोजन गरेको छ । लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पूरानो संरचना हटाएर नयाँ संरचना निर्माण सुरु भएको छ ।
अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, भाद्र १६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्