तिलोत्तमा,
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग तेस्रो दिनको बयान सकिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीकी प्रवक्ता डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् ।
यसअघि मंगलबार र बुधबार उनीसँग बयान लिइएको थियो । अब उनलाई पोखरा पठाउने तयारी भइरहेको डीएसपी खनालले बताइन् ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रूपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
जिल्ला सरकारी वकिलको कार्यालय भैरहवामा लामिछानेलाई पहिलो दिन मौखिक प्रश्न सोधिएको थियो भने दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नको जवाफ मागिएको थियो । त्यसक्रममा लामिछानेले सहकारी ठगीमा संलग्नता ठाडै अस्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीहरुको दावी छ ।
प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङको बयान भइसकेको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्