औद्योगिक व्यापार मेला : देशकै मध्येभागमा रहेको लुम्बिनीमा लगानीका थुप्रै सम्भावना

औद्योगिक व्यापार मेला : देशकै मध्येभागमा रहेको लुम्बिनीमा लगानीका थुप्रै सम्भावना

बुटवल-देशकै मध्येभागमा रहेको लुम्बिनी प्रदेशमा लगानीका थुप्रै सम्भावना रहेको विज्ञहरुले बताएका छन् । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलाका सन्दर्भमा विहिबार आयोजना गरिएको ‘नेपालको व्यवसायिक नीति तथा लुम्बिनी प्रदेशमा लगानीका अवसर’ विषयक गोष्ठीमा सहभागि विज्ञहरुले अरु प्रदेशको तुलनामा लुम्बिनी पदेशमा लगानीको लागि राम्रो सम्भावना र अवसर रहेको बताएका हुन् ।
राजनीतिक अस्थिरता र अस्थिर आर्थिक नीतिका कारण मुलुकमा लगानीको वातावरण बन्न नसकेको भन्दै विज्ञहरुले राजनीतिक दलहरुको सर्वसम्मतीमा मुलुकको आर्थिक नीति बनाउनु पर्ने आवश्यकता औंल्याए । त्यसैगरी आर्थिक विकास र समृद्धिका लागि संस्थागत सुशासन अनिवार्य सर्तको रुपमा लागु गर्नुपर्ने उनीहरुको भनाई छ ।
सिमा नियमनमा कडाई, प्राकृतिक स्रोत साधनको समुचित उपयोग र निर्यात, कृषिको व्यवसायिक उत्पादन, प्रशोधन र बजारिकरणमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिईएको छ ।
गोष्ठीले लुम्बिनी प्रदेशमा पर्यटन, कृषि र सूचना प्रविधिको लागि राम्रो सम्भावना रहेको निश्कर्ष निकालिएको पूर्व अर्थसचिव तथा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वर खनाल बताउनु भयो । गोष्ठीले भूकम्पीय जोखिम पनि न्यून रहेको र देशकै मध्येभागमा रहेकाले लुम्बिनीमा सूचना प्रविधिको क्षेत्रमा राम्रो सम्भावना रहेको निश्कर्ष निकालेको हो ।
सूचना प्रविधि, पर्यटन, स्वास्थ्य, शिक्षा र आर्थिक कोरिडोरको रुपमा लुम्बिनी प्रदेशलाई अगाडि बढाउन सकिने र त्यसका माध्यमबाट आयआर्जन गर्न सकिने गोष्ठीको निश्कर्ष छ । त्यसैगरी साना तथा घरेलु उद्योगहरुको प्रवद्र्धन तथा कोरला नाका सञ्चालन गर्न सकियो भने यस क्षेत्रलाई आर्थिक कोरिडोरको रुपमा विकास गर्न सकिने उहाँले भनाई राख्नुभयो ।
गोष्ठीमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले पृथ्वीनारायण शाहको पालादेखि कायम हुँदै आर्थिक असन्तुलन अहिले पनि विद्यमान रहेको बताउनु भयो । राजनीतिक दलहरुले २१ औं सताब्दिमा पनि २० औं सताब्दिको समाजवादको वकालत गरिरहेका कारण विकासको मोडल नै कमजोर बनेको बताउनु भयो । उहाँले उद्यमशील भन्दा पनि शक्तिको नजिक रहेर लाभ लिने प्रबृत्ति हावी रहेको भन्दै जोखिम मोलेर उद्यम गर्न खोज्ने युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो ।
त्यसैगरी राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले श्रम बजार भनेजस्तो नरहेको, पुँजीमा उचारचढाव, उत्पादनमा प्रविधि र व्यवस्थापन पक्ष कमजोर रहेको औंल्याउँदै लुम्बिनीमा कृषि र पर्यटनलाई जोडेर औद्योगिक विकास गर्न सकिने भनाई राख्नुभयो । त्यसका लागि उहाँले सडक सञ्जाल, निर्यात, पर्यटकलाई आकर्षण, प्राविधिक शिक्षालाई रोजगारीसंग जोड्नेगरी राणनीति तयार गर्नुपर्ने भनाई राख्नुभयो । त्यसैगरी स्वदेशी बस्तुको प्रयोग र प्रदेशमा स्थापना भएका उद्योगमा निश्चित प्रतिशत प्रदेशकै वासिन्दालाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने बताउनु भयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले प्रदेशको दोस्रो आवधिक योजना निर्माणको अन्तिम चरणमा रहेको बताउँदै गोष्ठीबाट आएका सुझावलाई फिडव्याकको रुपमा लिईने भनाई राख्नुभयो ।
कार्यक्रममा बोल्दै मेला कार्यसम्पादन समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले शिक्षालाई सीप, सीपलाई रोजगारी, रोजगारीलाई उत्पादन, उत्पादनमा आयात प्रतिस्थापन र निर्यातसंग जोड्न सकेमात्रै मुलुकको आर्थिक विकास गरी समृद्धि नेपाल निर्माण गर्न सकिने बताउनु भयो ।
बैंकर तथा पत्रकार अर्जुन ज्ञवालीको सञ्चालनमा भएको प्यानल छलफलमा रामप्रसाद खरेल, प्राध्यापक मोहनराज शर्मा, पा. डा. ओमप्रकाश अर्याल, लुम्बिनी वाणिज्य क्याम्पस प्रमुख प्रा. डा. ताराप्रसाद उपाध्याय, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष बिमलराज भट्टराईले विज्ञहरुले प्रस्तुत गरेका कार्यपत्र माथि टिप्पणी गर्नुभएको मेला कार्यसम्पादन समितिका सदस्य तथा तालिम गोष्ठी उपसमितिका संयोजक बालकृष्ण पौडेलले जानकारी गराउनु भयो ।  

प्रकाशित मिति : बिहिबार, पुष ११ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij