काठमाण्डौ – सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक डीआईजी को पदावधि एक वर्ष थप भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले गएराति १२ बजेदेखि नै लागू हुनेगरी चार जना डीआईजीको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको हो ।
पदावधि थप हुनेहरुमा नम्बर–१ बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नम्बर–३ गढीमाइ बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा कार्यरत प्रहरी नायब महानिरीक्षक कमल गिरी रहेका छन् ।
गृह मन्त्रालयको प्रस्तावमा चारै जना प्रहरी नायब महानिरीक्षकको पदावधि एक वर्ष थप गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को ग मा सशस्त्रका प्रहरी महानिरीक्षकको पदावधि चार वर्षको हुने व्यवस्था छ । चारै जना प्रहरी नायब महानिरीक्षक भएको हिजो चार वर्ष पूरा भएको हो ।
नियमावलीको दफा ६५ कै ग को २ उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक आईजी को सिफारिशमा नेपाल सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी र प्रहरी नायब महानिरीक्षक डीआईजी को पदावधि चार वर्षपछि एक वर्ष थप गर्न सक्ने उल्लेख छ ।
त्यसै व्यवस्था अनुसार मन्त्रिपरिषद् बैठकले चारै जना प्रहरी नायब महानिरीक्षकहरूको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : बुधबार, पुष २४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्