भैरहवा,आफ्ना चौपायहरु जथाभावी छाडा छोड्नेलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ७ हजार रुपैयाँ जरिवाना गराएको छ ।
नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रणका लागि सिद्धार्थनगर नगरपालिकाले गत हप्तादेखि अभियान सञ्चालन गरिरहेको छ ।
अभियान अन्तरगत हालसम्म ७८ वटा गाईगोरुको व्यवस्थापन गरिएको छ । त्यसमध्ये छाडा चौपाय आफ्नो भनि दावी गर्न आएका दुईजनालाई सात हजार जरिवाना गरेर गाई जिम्मा लगाइएको नगर प्रवक्ता तथा छाडा चौपाय नियन्त्रण अभियानका संयोजक मुक्तिनाथ यादव ९भोला०ले बताए । छाडा चौपाय नियन्त्रणका लागि स्थानीय सरकारले गरेको निर्णय बमोजिम पहिलोपटकलाई सात हजार जरिवाना गराई आइन्दा छाडा नछोड्ने शर्तमा सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो
बजारमा छाडा रुपमा हिंडिरहेका चौपायहरुलाई नियन्त्रणमा लिएर अस्थायी होल्डिङ सेन्टरमा राखिएको र त्यहाँबाट कपिलवस्तुको बाणंगगा नगरपालिका वडा नम्बर २ मा रहेको गौशालामा लगेर व्यवस्थापन गरिएको उनले बताए ।
छाडा चौपायाले सडकमा सवारीसाधन र यात्रुलाई अवरोध गर्नुका साथै किसानको कृषि उपज खाइदिन थालेपछि छाडा चौपायाको व्यवस्थापन गर्न अभियान थालिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ९मेयर० इश्तियाक अहमद खाँले जानकारी दिए । ‘विशेष गरी छाडा गाईगोरुले नगरमा बढी समस्या ल्याएको छ,’ उनले भने, ‘छाडा गाईगोरुका कारण सडक दुर्घटनाको जोखिमको साथै मलमुत्रले नगर दुर्गन्ध र किसानले आफ्नो कृषि उपज खाइदिने गरेको गुनासो गर्दै आएका छन् ।’
नियन्त्रणमा लिइएको गाइगोरु कसैले आफ्नो भनी दाबी गर्न आएमा न्यूनतम ७ हजार रुपैयाँ जरिवाना तिराएर दिइने अन्यथा नियन्त्रणमा लिइएका गाईगोरुलाई गौशाला लगिने गरिएको छ ।
सिद्धार्थनगरमा वर्षेनी छाडा गाईगोरुको समस्या विकराल बन्ने गरेको छ । गाई पाल्ने किसानले बाच्छो जन्मेको केही दिनमै माउसँग छुटाउन बजारमा छाडिदिने, दूध दिन छाडेपछि गाईलाई घरबाट लखट्ने र केही किसानले दिनभरी बजारका फलफूल, तरकारी, आसपास छाडी रात परेपछि घर लैजाने प्रचलनले नगरमा छाडा गाईगोरुको समस्या वर्षेनी दोहोरिने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।
नगरप्रमुख खाँले सिद्धार्थनगरमा छाडा गाईगोरु तथा चौपाया नियन्त्रणका लागि लगातार तेस्रो वर्षसम्म अभियान सञ्चालन गरेको बताए ।
प्रकाशित मिति : बिहिबार, माघ १० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्