तिलोत्तमा-तिलोत्तमा नगरपालिकाले आफ्ना नगरवासी, सेवाग्राही तथा कर्मचारीहरूको सुविधालाई मध्यनजर गर्दै सञ्चालनमा ल्याएको इरिक्सा सेवा अहिले निकै लोकप्रिय बन्दै गएको छ। सखुवानी चोकदेखि नगरपालिकासम्मको दूरीमा नगरपालिकाले निःशुल्क इरिक्सा सञ्चालन गर्दै आइरहेको छ। नगरपालिकाको कार्यालयसम्म पुग्न लामो दूरी पैदल हिँड्नुपर्ने बाध्यता र सार्वजनिक सवारीसाधनको अभावलाई ध्यानमा राखी सुरु गरिएको यो सेवा अहिले सर्वसाधारणका लागि सहज र भरपर्दो माध्यम बनेको छ। यो सेवा आर्थिक वर्ष ७९/८० देखि सुरु गरिएको हो। इरिक्सा सञ्चालनको लागि सुरुमा नगरपालिकाले ५ लाखको लगानीमा यी रिक्सा खरिद गरेको हो।
त्यसपछि अहिले नगरपालिकाले यी रिक्सामा एकजना महिला चालक राखेको छ उनलाई नगरपालिकाले मासिक तलब दिँदै आइरहेको छ । नगरपालिकाले सुरुमा परीक्षणका रूपमा सुरु गरेको यो सेवा अहिले नियमित रूपमा सञ्चालनमा रहेको छ। हाइवेबाट नगरपालिकाको कार्यालयसम्मको करिब १५ सय मिनेटको दूरीलाई यो इरिक्साले सहज बनाएको छ। इरिक्सा हरेक १५-१५ मिनेटमा हाइवेबाट कार्यालय र कार्यालयबाट हाइवेबीच सञ्चालन हुन्छ। तर यात्रु संख्या चार जना पुगेपछि इरिक्सा तत्काल छुट्ने पनि व्यवस्था गरिएको छ। यसले समयको बचत मात्र होइन। सेवाग्राहीको झन्झट पनि कम गरेको छ।
बिहान १० बजेदेखि कार्यालय समयमा निरन्तर हाइवे र कार्यालयबीच ओहोरदोहोर गर्ने गरेको यी रिक्सा चालक निरु रायमाझी बताउनुहुन्छ। इरिक्सा चालक रायमाझीले भनिन् , हामी बिहान १० बजेदेखिदेखि निरन्तर सेवा प्रदान गरिरहेका हुन्छौँ। हरेक १५ मिनेटमा हाइवे र नगरपालिकाको कार्यालय बीच यात्रा हुन्छ। यात्रु चार जना भए भने तुरुन्तै रिक्सा छुट्ने गर्छ। यसअघि हाइवेदेखि नगरपालिकाको कार्यालयसम्म जाने कुनै सार्वजनिक सवारी नहुँदा सेवाग्राहीहरूलाई निकै समस्या हुने गरेको थियो। कतिपय अवस्थामा महँगो भाडा तिरेर जानुपर्ने बाध्यता थियो भने कतिपयले त पैदल लामो यात्रा गर्नुपर्थ्यो।
तर अहिले इरिक्सा सेवाले यो समस्या समाधान गरेको छ। सेवा लिने एक सेवाग्राही बिमला देवकोटा बताउँछिन्, पहिले त कार्यालय जान निकै अप्ठेरो थियो रिक्सा नपाइने पाइए पनि धेरै पैसा लिने। अब भने नगरपालिकाको रिक्सा चढेपछि निकै सहज भएको छ। तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेश अन्तर्गतको एक सक्रिय स्थानीय तह हो। यस नगरपालिकाले विगतका वर्ष देखि नै जनमुखी सेवा र नागरिक सुविधा केन्द्रित कामहरू गर्दै आएको छ। इरिक्सा सेवा पनि सोही प्रयासको एक सशक्त उदाहरण हो। पहिले पैदल हिँड्नुपर्ने १५ मिनेटको बाटो अब इरिक्सा चढेपछि सजिलो र छिटो भएको छ।
हाइवेबाट नगरपालिकाको कार्यालयसम्म सार्वजनिक साधन नहुँदा धेरैले समस्या भोगिरहेका थिए। महँगो भाडा लिँथे र कहिले काँही पैदलै जानुपर्ने बाध्यता थियो। तर यो इरिक्सा सेवाले त्यो समस्या हटाएको छ। यसले सबै वर्गका मानिसलाई सेवा पुर्याउन सहज बनाएको छ। साधन नपाइने र पाइहाले पनि महँगो भाडा लिने समस्याको समाधानमा नगरपालिकाले सञ्चालन गरेको इरिक्सा सेवा आएपछि निकै सहजता मिलेको सेवाग्राही बताउँछन्। वृद्धवृद्धा र अपांगता भएका व्यक्तिका लागि यो सेवा अमूल्य छ। यो सेवा निःशुल्क छ र छिटो छरितो पनि रहेको अर्का सेवाग्राही सुनिता मगर बताउँछिन् उनले पहिला नगरपालिकाको कार्यालय आउनेभन्दा आफूलाई दिक्क लाग्थ्यो तर अहिले यी रिक्सा भएपछि ढुक्क हुने गरेको बताइन्।
हाइवेबाट झर्यो अनि यी रिक्सा भेटीए चढि हाल्यो नभेटिए पनि कुरेर बस्यो। यसले गर्दा नगरपालिकामा आउँदा पनि धेरै सुविधा भएको उनले अनुभव सुनाई । ठुटी पिपलदेखि सेवा लिनको लागि नगरपालिका आएको र यो रिक्साले आफूलाई समयको बचत र गर्मीमा धेरै सुविधा दिएको उनको भनाइ छ। नगरपालिकाका उपसचिव तथा सूचना अधिकारी गंगाराम आचार्यले सेवा सहज र पहुँचयोग्य बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको बताउछन्। दैनिक सयौँ सेवाग्राहीले यो इरिक्सा प्रयोग गरिरहेका छन्। यसले नगरवासीको समयको ख्याल राख्नुका साथै जनउत्तरदायी सेवा प्रवाहमा नगरपालिकाको प्रतिबद्धता अनुसारको काम गरेको उनले बताए।
नगरपालिकाले यो सेवा सुरु गरेपछि प्राप्त सकारात्मक प्रतिक्रिया र सेवाग्राहीहरूको रोजाइलाई मध्यनजर गर्दै यसलाई प्रभावकारी रूपमा सञ्चालन गरिने नगरपालिकाको योजना रहेको छ। हामी जनताको समस्या बुझेर त्यसको समाधानमा काम गर्ने वचनबद्ध सूचना अधिकारी आचार्यले भने इरिक्सा सेवा हामीले सञ्चालन गरेको एउटा सानो तर प्रभावकारी प्रयास हो। हामी यसलाई अझ मजबुत र प्रभावकारी बनाउनेमा प्रयासरत छौँ। उनले भने। इरिक्सा सेवा तिलोत्तमा नगरपालिकाले जनताको दैनिक जीवनमा देखिएका असुविधा र समस्यालाई बुझेर सुरु गरेको एक सफल परियोजना हो। यो सेवा केवल सवारी सुविधा मात्र नभएर नागरिकलाई समय बचत, सहजता र सेवाप्रतिको विश्वास पनि प्रदान गरिरहेको छ।
नगरपालिकाको यो सेवा क्षेत्रीय स्तरमा पनि उदाहरणीय छ, जहाँ स्थानीय सरकार र नागरिकबीचको दूरी घटाएर सेवाप्रतिको पहुँच बढाउन सकिन्छ भन्ने कुरा देखिएको छ। पैदल दूरी र सार्वजनिक यातायात अभावका कारण जनजीवनमा देखिएको असुविधालाई घटाउन तिलोत्तमा नगरपालिकाले शुरु गरेको इरिक्सा सेवा सफलतापूर्वक संचालन भइरहेको छ। यस प्रकारको उदाहरणीय सेवा जहाँ स्थानीय सरकारले जनताको वास्तविक आवश्यकतालाई बुझेर सहज र सुलभ माध्यममार्फत सेवा पुर्याएको छ, त्यो मात्र तिलोत्तमा नगरपालिकाको लागि होइन, देशका अन्य सबै पालिकाहरूका लागि पनि प्रेरणा र मार्गदर्शन हुनुपर्छ। यस्ता नवप्रवर्तनात्मक र जनमुखी कदमहरूले मात्रै समग्र विकास र नागरिकहरूको जीवनस्तरमा वास्तविक सुधार आउन सक्छ। यसैले यो सेवा अरु पालिकाहरूले पनि अवलम्बन गर्न आवश्यक ।
प्रकाशित मिति : बिहिबार, असार १९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्