बुटवल — प्रतिनिधिसभा सदस्यका लागि आउँदो कार्तिक १७ गते हुने रूपन्देही–३ को उपनिर्वाचनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक प्रतिस्पर्धा चर्किएको छ। उम्मेदवार चयनका लागि खुलाइएको आवेदनमा ९ जना आकांक्षीको नाम सार्वजनिक भइसकेको छ।
रास्वपाले साउन ७ गतेदेखि भदौ ६ गतेसम्म अनलाइनमार्फत उम्मेदवारी आवेदन खुला गरेको थियो। पार्टीको आधिकारिक पेजमार्फत सार्वजनिक नामावलीमा शुलभ खरेल, पाथवेन्द उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन्।
पार्टी भित्रका स्रोतहरूका अनुसार मधुप्रसाद अर्याल, ज्ञानु पौडेल, डा. लेखजंग थापा, कुसुम महर्जन र शुलभ खरेल प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन्। यी मध्ये:
मधु अर्याल शिक्षा क्षेत्रमा आबद्ध छन् र तिलोत्तमामा विद्यालय सञ्चालक छन्। उनी अटिजम विषयमा पीएचडी गरेका शिक्षाविद् हुन्।
ज्ञानु पौडेल सहकारी अभियन्ता हुन्, जो लामो समयदेखि सामाजिक गतिविधिमा सक्रिय छन्।
डा. लेखजंग थापा एक न्युरोसर्जन हुन् र पेशागत रूपमा स्थापित छन्।
कुसुम महर्जन पार्टीकी केन्द्रीय सदस्य हुन्। उनी २०७९ को निर्वाचनमा समानुपातिक सूचीमा रहेकी थिइन् तर उम्मेदवारीको तयारी गर्दै सूचीबाट नाम फिर्ता गरेकी हुन्।
शुलभ खरेल अमेरिका बसोबास गरीरहेका रास्वपा समर्थक हुन् र निर्वाचनकै लागि नेपाल फर्किएका हुन्। उनी पार्टी सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेसँग निकट मानिन्छन्।
रास्वपाले उम्मेदवार चयनका लागि आन्तरिक प्रतिस्पर्धात्मक प्रक्रिया तय गरेको छ। पार्टीका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपीन आचार्यका अनुसार भदौ १२ र १३ गते आन्तरिक निर्वाचन सम्पन्न गरी भदौ १५ गते एकल उम्मेदवार घोषणा गरिनेछ।
पार्टी नेताहरूका अनुसार यो उपनिर्वाचनलाई संगठन विस्तार र जनमत पुनःस्थापना गर्ने अवसरको रूपमा लिइएको छ।
२०७९ को आमनिर्वाचनमा रास्वपाले रूपन्देही–३ मा उल्लेखनीय प्रदर्शन गरेको थियो। समानुपातिकतर्फ १४ हजार मत ल्याएर तेस्रो स्थानमा रहँदा, प्रत्यक्षतर्फ जितबहादुर गुप्ताले ५,७९६ मत ल्याएका थिए।
झण्डै १ लाख ३० हजार मतदाता रहेको यस क्षेत्रमा करिब ९० हजार मत खसेको थियो। समग्र मत विश्लेषण गर्दा कांग्रेस पहिलो दलको रूपमा देखिएको थियो।
रूपन्देही–३ लुम्बिनी प्रदेशकै महत्वपूर्ण निर्वाचन क्षेत्रमध्ये एक हो। यहाँको उपनिर्वाचनले आगामी संघीय राजनीतिक समीकरणमा पनि सन्देश पुर्याउनेछ। रास्वपाले यदि सक्षम र लोकप्रिय उम्मेदवार प्रस्तुत गर्न सक्यो भने विगतको प्रदर्शनभन्दा बलियो नतिजा ल्याउने संभावना देखिन्छ।
प्रकाशित मिति : बिहिबार, साउन २२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्