तिलोत्तमा– तिलोत्तमा २ जानकीनगरका विष्णु चौधरीको पाँच बिघा खेतमा कुनै बेला लहलह धान झुल्थ्यो । सिंचाईको सुविधा भएकाले लामो खडेरी पर्दा समेत उनलाई चिन्ता थिएन् । राम्रो फल्दा बिघामा ६० मुरीसम्म उनले धान स्याहारे । पाँच बिघामा ३ सय मुरी सम्म धान स्याहारेका चौधरीसँग अहिले एउटा घर रहेको जग्गामात्रै बाँकी छ ।
खेतीयोग्य जमिन मासेर घडेरी बनाउँदा दाम परेपछि उनले डेढ दशक अघि खेत बेचे । जग्गाको भाउ परेपछि धान फल्ने खेत बेचविखन गरेँ । अहिले एउटा घर रहेको जग्गा मात्रै बाँकी छ,— उनले भने । धान फल्ने खेतमा अहिले अग्ला घर सहितको बाक्लो बस्ती छ ।
चौधरीको मात्रै नभई दुई दशक यता तिलोत्तमा नगर क्षेत्रको धेरै खेतीयोग्य जमिन मासिएको छ । घडेरीको किनबेच बढेपछि उर्भर खेतमा प्लटिङ भई घडेरी बने । पहाडबाट बसाई सरेर आउनेहरु बढेपछि कुनै बेला धान फल्ने खेत अहिले घना बस्ती भएका छन् ।
तिलोत्तमा ७ जहदा निवासी ५५ वर्षीय दुर्गाप्रसाद ज्ञवालीलाई हेर्दाहेर्दै धान खेत मासिएर घना बस्ती बस्ती बसेको सपना झैं लागेको छ । जहदा सिद्धार्थ राजमार्गको मंगलापुरदेखी १.५किमि पूर्वमा पर्ने एउटा गाउँ हो । राजमार्ग आसपासको क्षेत्रमा जग्गा प्लटिङ भएर धमाधम घर बनिरहँदा दशक अघि सम्म जहदामा बस्ती पातलो थियो । खेतीपाती राम्रै हुन्थ्यो । राजमार्ग आसपासको जग्गाको भाउ उर्लिएपछि जहदा जस्ता गाउँका खेत पनि बाँकी रहेनन् ।
तिलोत्तमा—२० सेमराका धनबहादुर थापाले दशक अघि साढे दुई बिघा खेतमा सय मुरी धान स्याहार्थे । उनले उब्जाउ खेत जग्गा प्लटिङ गर्नेलाई बेचेपछि बाँझै छ । खेतको बीचबाट पक्की बाटो बनेको छ । सडकको छेउ हुँदै बिजुलीका पोल र ती पोलमा तार टाँगिएको छ । थापाले बेचेपछि जग्गा कारोबारीले जग्गा टुक्रा गरी घडेरी चाहिनेलाई बेचे । लहलह धान झुल्ने खेत बाँझै देख्दा अहिले उनी पछुतो मान्छन् । थापाले भने—छोराहरुले व्यवसायमा हात हाल्न खोजे, छोरीको विवाह गर्नु प¥यो । पैसाको समस्या परेर उब्जाउ खेत बेचेँ । अहिले उब्जाउ खेत बाँझै देख्दा मन पोल्छ ।’
तिलोत्तमा नगरपालिकाका सुचना प्रबिधि अधिकृत सुनिल पन्थीले दिएको जानकारी अनुसार, यहाँ विभिन्न ठाउँबाट बसाई सरेर गत पाँच वर्षमा ५ हजार ५ सय ५४ घर परिवार आए । नगरपालिकाको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७६।०७७ मा ५ सय ६४, आव २०७७।०७८ मा ७ सय ६० र आब २०७७।०७८ मा १ हजार ३ सय २६ घरपरिवार बसाई सराई गरे आए । त्यसैगरी, आब २०७८।०७९ मा १ हजार २ सय ४, आब २०७९।०८० मा ८ सय ५६ र आब २०८०।०८१ मा ८ सय ४२ घरपरिवार बसाई सरेर आएको तथ्याङ्क छ ।
अन्य ठाउँबाट बसाई सरेर आउनेहरुको चापले यहाँको खेतीयोग्य जमिन मासिदै गएको तिलोत्तमा नगरपालिका कृषि शाखाका दोमलाल भुषालले बताए । लुम्बिनी प्रदेश कृषि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार, २०७६ मा १२ हजार ६ सय २१ हेक्टर मध्ये ९ हजार ९ सय २४ हेक्टरमा खेती हुँदै आएको छ । त्यसैगरी,तिलोत्तमा नगरपालिका, कृषि शाखाको पछिल्लो तथ्याङ्क अनुसार ८ हजार १ सय ६४ हेक्टरमा खेती हुन्छ ।
तिलोत्तमा नगरपालिका वडा नं ३ का अध्यक्ष कल्याण प्रसाद पौडेलले जग्गा प्लटिङ भएपछि जमिन बाँझै रहेको बताए । घर बन्ने क्रम उत्तिकै बढेको छ, घडेरीको रुपमा खरिदबिक्री भएपछि जग्गा बाँझिने क्रम उत्तिकै छ, उनले भने ।
तिलोत्तमा नगरपालिकाको स्थापना २०७१ मा भएको हो । त्यसपछि घर निर्माण र सम्पन्न भएको तथ्याङ्क राख्न थालिएको हो । तिलोत्तमा नगरपालिकाका बरिष्ठ इञ्जिनियर मनिष खनाल घर निर्माणको लागि आर्थिक वर्ष २०७४।०७५ मा ५ हजार ८ सय ३३ वटा निवेदन दर्ता भएका थिए । यो संख्या नयाँ र पूराना बन्दै गरेका घर सहितको तथ्याङ्क हो । त्यसैगरी, आर्थिक वर्ष २०७९।०८० मा घर निर्माणका १ हजार १ सय १३ फाइल दर्ता भए । आर्थिक वर्ष २०८१।०८२ मा नयाँ घर निर्माणका लागि दर्ता भएका फाइलको संख्या १ हजार ३ सय ७४ पुगेको छ ।आब २०७५।०७६ देखि आब २०८१।०८२ सम्म ७ हजार ८ सय ६२ घर निर्माण भएको नगरपालिकासँग तथ्याङ्क छ ।
विस २०७८ को राष्ट्रिय जनगणना अनुसार, तिलोत्तमा नगरपालिकाको जनसंख्या १ लाख ४९ हजार ६ सय पुगेको छ । विस २०६८ सालमा यहाँको जनसंख्या १ लाख १ सय ३९ थियो । दश वर्षमा ३ दशमलव ८४ प्रतिशतले जनसंख्या बढेको छ ।
पछिल्ला वर्ष केही ठूला उद्योग पनि यहाँ खुलेका छन् । सुविधासम्पन्न होटल, पार्टी प्यालेस, वाटरपार्क, अस्पताल र शिक्षण संस्था खोल्न व्यवसायीले तिलोत्तमालाई नै रोजेका छन् । बढ्दो जनसंख्याको चापले शहरी पूर्वाधारको माग बढेसगैं लगानी बढेको छ । तिब्र सहरीकरणसगैं लगानी बढ्दा त्यसको मार खेतीयोग्य जमिनमा परेको छ,—तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुषालले भने ।
सिंचाई गर्ने कुलो मासिदैँ
सिंचाईको राम्रो सुविधा भएको तिलोत्तमा नगरपालिकाको खेतीयोग्य जमिन रूपन्देहीकै उर्भर मानिन्छ ।विश्वकै नमूना सिंचाइ प्रणाली एवं रूपन्देहीकै ठूलो सोह्—छत्तीस सिंचाई प्रणालीबाट सिंचाई हुने जमिन तिलोत्तमामा नै पर्छ । यो प्रणालीबाट ४० प्रतिशत सोह्र मोजाले र ६० प्रतिशत छत्तिस मौजाले पानि वितरण गर्दै आएको छ । छत्तिस मौजा सिंचाइ प्रणलीमा ४४ बटा सहायक नहरहरु रहेका छन् । जसबाट ३५ सय हेक्टर भूमी सिंचाइ हुन्छ । तीब्र सहरीकरणले यो प्रणालीमा जोडिने सहायक नहर कुलोहरु मासिदै गएका छन् ।
तिलोत्तमा वडा नं ३ पन्ध्रविगाहाका विकास श्रेष्ठ पहिलेका कुलो नहर मासिदै जाँदा सिंचाई गर्न सकस हुन थालेको अनुभव सुनाउँछन् ।श्रेष्ठका भनाईमा, खेत घडेरी भएपछि नहर कुलो च्यापेर घर बनाउने क्रम बढेको छ । बुटवल हुँदै बग्ने सोह छत्तीस नहरमा प्लाष्टिकजन्य फोहर फाल्दा खेतभरी प्लाष्टिक थुप्रिन थालेको छ । प्लाष्टिकले कुलोहरु थुनेर खेतमा पानी पु¥याउन हम्मे हम्मे भएको छ । तिलोत्तमा, शान्तिनगरका युवराज कँडेल खेतमा प्लाष्टिक पुग्दा माटोको उर्भराशक्ति नासिदै गएको बताउँछन् । वातावरणका जानकार समेत रहेका कँडेल खेतको प्लाष्टिक पन्छाउन झन्झटिलो बन्दै गएपछि खेतीपाती मासिदै गएको छ ।
एकातिर जग्गा प्लटिङ र अर्कोतिर नहरमा प्लाष्टिङको विर्सजनको सिधा मार कृषि उत्पादनलाई परेको छ । तिलोेत्तमा—२ शंकरनगरकि पार्वती क्षेत्रीका भनाईमा प्लाष्टिक हटाउन सास्ती हुन थालेको छ, शहरको प्लाष्टिक नहर हुँदै खेतमा पुगेपछि किसानलाई सास्ती भएको छ ।
तिलोत्तमामा खाद्यान्न बाली अन्र्तगत धान खेती ६ हजार ८ सय ४ हेक्टरमा हुन्छ । त्यसैगरी चैते धान २ हेक्टरमा, गहुँ २ हजार ७ सय, मकै ८ सय ९० र तोरी १५ सय हेक्टरमा खेती हुन्छ । दलहन बाली १२ सय, तरकारी खेती ३ हजार ५० तथा पुष्प खेती २ हेक्टरमा हुने नगरपालिकाको कृषि शाखासँग तथ्याङ्क छ । नगरपालिकाले कृषिमा किसानलाई उत्साहित गर्न मल, बीउ र उपकरणमा अनुदान दिदै आएको छ । तर घट्दो खेतीयोग्य भूमिले उत्पादन उत्साहजनक ढंगले बढ्न सकेको छैन् ।
प्लटिङले जग्गा बाँझिने क्रम बढेपछि नगरपालिकाले खाली जग्गामा तरकारी खेती गर्न आग्रह गरेको छ । बाँझो जग्गा र घडेरीमा सहमति लिएर तरकारी खेती गर्न नगरवासीलाई अपील गरेका छौँ, नगरप्रमुख रामकृष्ण खाँणले भने ।
मानव बस्ती बढ्दै गएपछि र उत्पादनमुलक कृषि गर्ने जमिन खण्डीकरण हुँदै गएपछि तिलोत्तमाको खेती हुने धेरै ठाँउ अहिले बजार बनेको छ । मानवीय बस्ती र भौतिक बिकासले फड्को मारेपनि तिलोत्तमाको खेतीयोग्य जमिन भने घट्दै गएको छ । यसरी खेतीयोग्य जमिन बजारीकरणमा परिणत हुदैँ जाँदा एकातिर खेतीयोग्य जमिन मासिएको छ भने अर्को तिर भविश्यमा खाद्य संकट निम्तिने बताउछन् तिलोत्तमा नगरपालिकाका कृषी शाखा अधिकृत दोमलाल भुसाल । अहिलेनै खाद्य संकट नभएपनि तिब्र बसाइसराइ रहीरहने अबस्था रहयो भने भविश्यमा खाद्य संकत पर्न सक्ने भुषाल बताउछन् ।
प्रकाशित मिति : सोमबार, भाद्र २ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्