ओली र लेखकसहित ५ जनालाई विदेश जान निषेध

ओली र लेखकसहित ५ जनालाई विदेश जान निषेध

काठमाडौँ =एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनका तत्कालीन मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको विदेश यात्रा रोक लगाइएको छ। रोक लगाइएका अन्यमा पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल छन्।

जेनजी आन्दोलनमा अस्वाभाविक बल प्रयोग भएको आरोपमा छानबिन भइरहेको भन्दै न्यायिक जाँचबुझ आयोगले उनीहरूलाई अनुसन्धानको दायरामा राख्दै यस्तो निर्णय गरेको हो। आयोगका अनुसार अब उनीहरूले उपत्यकाबाहिर जान चाहेजस्तो खण्डमा पनि आयोगकै अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।

आयोगले निर्णयमा भनेको छ–
“भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिलबमोजिमका व्यक्तिहरू अनुसन्धानको दायरामा रहेका हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्न तथा कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गरिनेछ।”

आयोगको यो निर्णय त्यस्तो समयमा आएको हो, जब एमाले अध्यक्ष ओली आफ्नै पार्टी सचिवालयको बैठकमा सहभागी रहेका थिए। ओलीले शनिबार मात्र सरकारलाई लक्षित गर्दै ‘यो सरकार हाहुबाट बनेको’ भन्ने अभिव्यक्ति दिएका थिए।

यसबीच, तत्कालीन गृहमन्त्री रहेका रमेश लेखक हाल आमाको काजक्रियामा व्यस्त छन्। पूर्वगृहसचिव गोकर्णमणि दुवाडीलाई गृहसचिवको जिम्मेवारीबाट हटाएर राष्ट्रिय योजना आयोगमा पठाइएको छ। अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा अवकाश लिइसकेका छन् भने छविलाल रिजाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीबाट हटाइएको छ।

यस्तै, जाँचबुझ आयोगले छानबिन प्रभावकारी बनाउन विज्ञसहित थप जनशक्ति आवश्यक रहेको निष्कर्ष निकाल्दै सोको लागि गृह मन्त्रालयमा लेखी पठाउने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : आइतबार, असोज १२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij