काठमाडौँ । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो ।
देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सहरुले उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्न थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिवसहितको टोलीलाई बोलाएर तत्काल सम्बोधन गर्न निर्देशन दिएकी थिइन्। प्रधानमन्त्री कार्की स्वास्थ्यमन्त्री पनि हुन्।
समितिको पहिलो बैठक आजै बसेर आन्दोलनरत नर्सहरुलाई काममा फर्काउने वातावरण बनाउने प्रयास भइरहेको मन्त्रालयका सचिव डा विकास देवकोटाले जानकारी दिए ।
‘भोलिदेखि तिहार बिदा छ। धेरै जनशक्ति बिदामा बस्ने भएकाले कामको चाप हुन्छ। त्यसैले आजै सहमति गरी आन्दोलनरत पक्षलाई काममा फर्काउने कोसिसमा छौँ,’ डा देवकोटाले भने, ‘काममा फर्किनका लागि हाम्रो आह्वान पनि छ।’
डा देवकोटाका अनुसार समितिले एक हप्ताभित्र प्रारम्भिक प्रतिवेदन दिनुपर्नेछ। तत्काल र दीर्घकालीन रुपमा समस्या समाधानका लागि गर्नुपर्ने कामका विषयमा सुझावसहितको प्रतिवेदन दिनुपर्ने समितिको कार्यादेश छ।
समितिमा स्वास्थ्य मन्त्रालयको गुनासो सुनुवाइ एकाइ प्रमुख डा अनुप बाँस्तोला सदस्य छन्।
प्रकाशित मिति : आइतबार, कार्तिक २ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्