बुटवल , नेकपा मसाल का महामन्त्री मोहन विक्रम सिंहले देशमा विदेशी हस्तक्षेप, भ्रष्टाचार र राजनीतिक अस्थिरताबारे कडा चेतावनी दिँदै अन्तरिम सरकारको वैधानिकतामा प्रश्न उठाएका छन् । उनले जनतासँग इमानदार र निष्कलङ्क नेतृत्व रोज्न आग्रह गरेका छन् ।
प्रगतिशिल पत्रकार संघले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा लिखित अभिव्यक्ति राख्दै महामन्त्री सिंहले देश अहिले गम्भीर राजनीतिक संकटको अवस्थामा रहेको बताए । उनले प्रतिनिधिसभा विघटन, अन्तरिम सरकारको गठन र देशभर देखिएका ध्वंसात्मक घटनाहरूले देशलाई गहिरो संकटमा धकेलेको बताए । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री सिंहले पार्टी केन्द्रीय समितिको हालै सम्पन्न बैठकका निष्कर्ष सार्वजनिक गर्दै भने(“देशमा फैलिएको भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धले जनतामा असन्तोषको विस्फोट निम्त्याएको छ ।” सिंहले भाद्र २३ गतेको जेनजी आन्दोलनमाथि सरकारले गरेको बल प्रयोगलाई “नरसंहार”को शंज्ञा दिनुभयो । उहाँले भन्नुभयो( “ओली सरकारले शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाएर जनतालाई दमन गरेको छ, त्यसको निष्पक्ष छानविन र कारबाही आवश्यक छ ।
उनका अनुसार आन्दोलनमा घुसपैठ गरेर २४ गते भएका आगलागी र तोडफोडका कार्यहरू जेनजी आन्दोलनका युवाहरूले होइन, बाह्य तत्त्वहरूले गराएका हुन् । उनले बुटवल, प्युठान, अर्घाखाँची र सुर्खेतस्थित राष्ट्रिय जनमोर्चाका कार्यालयमाथि भएको आक्रमणलाई पनि “पूर्वनियोजित षड्यन्त्र” भएको बताए । सिंहले जेनजी आन्दोलन र अन्तरिम सरकारका पछाडि अमेरिकी साम्राज्यवादको भूमिका रहेको आरोप लगाए । उनले भने(“अमेरिकाले नेपाललाई इण्डोप्यासिफिक रणनीतिमा तान्ने र चीनविरुद्ध रणनीति अघि बढाउने प्रयास गरिरहेको छ।” उनले दलाइ लामाको वक्तव्यलाई समेत त्यसको प्रमाणको रूपमा व्याख्या गरे ।
सिंहले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपति प्रणाली ल्याउने सोचलाई “अधिनायकवादको ढोका खोल्ने” सोंचका रुपमा व्याख्या गरे । उजका अनुसार, “नेपाल जस्तो देशमा त्यस्तो प्रणालीले प्रजातन्त्र र राष्ट्रियता दुवैलाई खतरा पुर्याउँछ।” राजनीतिमा पुस्तान्तरणको प्रश्नमा सिंहले उमेरलाई मात्र आधार बनाउने सोच गलत भएको बताए । “नेतृत्वका लागि उमेर होइन, सोच, दृष्टि र इमान्दारिता नै मुख्य मापदण्ड हुनुपर्छ,” उनले भने ।
सिंहले देशमा फैलिएको भ्रष्टाचारलाई प्रमुख चुनौती बताउँदै भने“देशको विकास तब मात्र सम्भव छ, जब भ्रष्टाचार नगर्ने, निष्कलङ्क छविका नेताहरू विजयी हुन्छन् । पुरानो वा नयाँ दलको होइन, इमान्दार नेताको समर्थन हुनुपर्छ ।”
महामन्त्री सिंहले राष्ट्रिय जनमोर्चालाई इमानदार र निष्कलङ्क पार्टीको रूपमा प्रस्तुत गरे । उनले भने“जबसम्म भ्रष्ट तत्त्वहरू पैसा बाँडेर चुनाव जित्ने प्रवृत्ति अन्त्य हुँदैन, तबसम्म देशको विकास सम्भव छैन ।”
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्