बुटवल – लामो समयदेखि प्रतीक्षित एमआरआई मेशिन जडानको काम लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा सुरु भएको छ। अस्पतालमा मेशिन आपूर्तिकर्ता कम्पनी लुम्बिनी हेल्थ केयर ले तिव्र गतिमा जडानको काम अघि बढाइरहेको छ।
अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा. इन्द्र ढकाल का अनुसार, मेशिन जडान गरी आगामी दुई महिनाभित्रै सेवा सञ्चालन गर्ने लक्ष्यसहित काम भैरहेको छ।
उनका शब्दमा, “करिब १२ करोड रुपैयाँ लागतमा जडान हुन लागेको यो एमआरआई मेशिन सञ्चालनमा आएपछि जनताले अति न्यून शुल्कमा सेवा पाउने छन्। निजी अस्पतालमा गएर महँगो शुल्क तिर्नुपर्ने बाध्यता अब अन्त्य हुँदैछ।”
डा. ढकालले थपे, “विगत पाँच वर्षदेखि प्रदेश सरकारको निरन्तर प्रयासले अहिले यो परियोजना साकार रुप लिन लागेको हो।”
लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा जडान हुन लागेको मेशिनले बुटवलसहित प्रदेशका अधिकांश जिल्ला र छिमेकी प्रदेशका करीब ३० लाख जनसंख्या लाई प्रत्यक्ष लाभ पुग्नेछ। अस्पतालको ओपीडी सेवाबाट मात्रै वार्षिक करिब ४ लाख बिरामी सेवा लिने गरेको तथ्यांक छ।
अस्पतालमा कार्तिक १७ गतेदेखि मेशिन जडानको काम औपचारिक रूपमा सुरु भएको हो।
आपूर्तिकर्ता कम्पनीका इन्जिनियर राजु चौधरी का अनुसार, “कार्तिक १० गते मेशिन बुटवल आइपुगेको थियो तर चीनबाट प्राविधिक टोली ढिलो आएको कारण एक सातापछि मात्र जडान सुरु गर्न सक्यौं।”
हाल चीनका दुई जना प्राविधिकको निगरानीमा दैनिक १२ घण्टासम्म काम भइरहेको उनले बताए।
इन्जिनियर चौधरीका अनुसार, हालसम्म आरएफ क्याबिनेट र टेक्निकल रुम तर्फ करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ भने अव्जरभेसन (कन्सल) रुम को काम पनि तीव्र गतिमा अघि बढिरहेको छ।
लुम्बिनी प्रदेशकै ठूलो यस अस्पतालमा सेवा गुणस्तरीय बनाउनका लागि अस्पताल विकास समितिले निरन्तर पहल गरिरहेको अध्यक्ष अजयमान श्रेष्ठ ले बताए।
उनका अनुसार, “सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राखी सीमित स्रोत साधनको अधिकतम उपयोग गरेर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने हाम्रो लक्ष्य हो।”
एमआरआई मेशिनसँगै अस्पतालले नयाँ सिटी स्क्यान मेशिन जडानका लागि पनि प्रक्रिया अघि बढाएको छ।
डा. ढकालका अनुसार, “हाल प्रयोगमा रहेको ७ वर्ष पुरानो १६ स्लाइसको सिटी स्क्यान मेशिन बारम्बार बिग्रिने भएकाले संघीय सरकारको आर्थिक सहयोगमा नयाँ १२८ स्लाइसको कार्डियाक सिटी जडान गर्ने तयारी भइरहेको छ।”
नयाँ मेशिनले मुटुको स्क्यान पनि गर्न सक्ने भएकाले उपचारमा अझ सहजता र गुणस्तर वृद्धि हुने अपेक्षा गरिएको उनले बताए।
प्रकाशित मिति : मंगलबार, कार्तिक २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्