देशको अर्थतन्त्र सुधार्न कृषि क्रान्ति गर्नुपर्छ : उम्मेद्वार चन्न पौडेल

देशको अर्थतन्त्र सुधार्न कृषि क्रान्ति गर्नुपर्छ : उम्मेद्वार चन्न पौडेल

बुटवललाई स्वास्थ्य हव बनाउने योजना

बुटवल

नेपाली काँग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नं. २ का उम्मेद्वार चुन्नप्रसाद पौडेलले देशको अर्थतन्त्र सुधार गर्न कृषि क्रान्ति अपरिहार्य रहेको बताउनु भएको छ । उहाँले कृषि क्रान्ति गर्न सक्ने हो भने पलायन भईरहेको पुँजी रोक्न सकिने बताउँदै कृषि क्रान्तिका लागि आफूले सुरुवात गरेको भनाई राख्नुभयो । तर नीजि क्षेत्रबाट भएको सानो प्रयासले मात्रै नपुग्ने कृषि क्रान्ति हुन नसक्ने बताउँदै सरकारले नै त्यसका लागि वातावरण बनाउने, लगानी आकर्षण र लगानीको सुरक्षा गर्नुपर्ने भनाई राख्नुभयो ।

यशोदा फूडका सञ्चालक समेत रहनु भएका उम्मेदवार पौडेलले यशोदा फूडको उत्पादन करेन्ट चाउचाउले नेपाली किसानले उत्पादन गरेको वार्षिक १ अर्ब बढीको अकवरे खुरसानी खपत गरिरहेको जानकारी गराउनु भयो । उहाँले नेपाली किसानले उत्पादन गरेको अकवरे खुरसानी सहितको करेन्ट चाउचाउ २५ बढी देशमा निर्यात भईरहेको बताउँदै स्वदेशी बस्तु उत्पादनमा किसानलाई भईरहेको प्रोत्साहन र उत्पादित बस्तुको विदेश निर्यातले एकातिर एकातिर पुँजी पलायन राकिएको र अर्कोतिर बस्तुको निर्यातले विदेशी पुँजी भित्र्याएको उल्लेख गर्नुभयो । उहाँले कृषिमा किसानलाई प्रोत्साहन गर्नका लागि समुह बनाएर लगानी गरिएको र उत्पादित खुरसानी पूर्वनिर्धारित मुल्यमा खरिद गर्ने गरिएको जानकारी गराउनु भयो ।

नेपाल किसान महासंघले शुक्रबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आफूहरुको यो सानो प्रयास भएको र नेपालमा यस्ता उद्योगहरु धेरै खुल्न आवश्यक रहेको भनाई राख्नुभयो । त्यसका लागि नीतिगत सुधार, औद्योगिक तथा व्यवसायिक वातावरण निर्माण, लगानी आकर्षण र लगानीको सुरक्षा गर्ने नीति बनाउनका लागि आफ्नो उम्मेद्वारी रहेको प्रष्ट्याउनु भयो ।

उम्मेद्वार पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि स्वदेशी कच्चापदार्थमा आधारित उद्योग स्थापनामा जोड दिँदै ती उद्योगहरुबाट उत्पादित बस्तुलाई विदेश निर्यात गर्ने नीति लिनुपर्ने समेत उल्लेख गर्नुभयो । उहाँले कृषिलाई आधुनिक र प्रविधियुक्त गरी वैज्ञानिक विकास गर्नुपर्ने बताउँदै कृषि सहित यस क्षेत्रको आर्थिक, सामाजिक, भौतिक तथा औद्योगिक विकास आफ्नो प्राथमिकताको विषय भएको जानकारी गराउनु भयो ।

आफूले लिएका संकल्प पुरा गर्नको लागि नेपाली काँग्रेस नेतृत्वका सरकार बन्नुपर्ने र त्यसका लागि काँग्रेसले अगाडि सारेका उम्मेद्वारले जित्नुपर्ने बताउँदै रुपमा भोट हालेर जिताउन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्कीले काँग्रेस देशको मियो भएको बताउँदै देशको विकास र समृद्धिको लागि काँग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने बताउनु भयो । उहाँले बदलिएर आएको काँग्रेसले देशलाई पनि बदल्ने शाहस राख्ने भएकाले काँग्रेसका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो ।

त्यस्तै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापति तथा निर्वाचन परिचालन मुल समितिका संयोजक प्रजापाल गिरीले देशलाई अफ्ठ्यारो परेका बेला काँग्रेसले नै निकास दिँदै आएको र मुलुकका हरेक परिवर्तनमा काँग्रेसले नेतृत्व गरेको स्मरण गर्दै मुलुकको पुरानो विरासतलाई जोगाउने र जेन–जी आन्दोलनको मर्मअनुसार देश सम्हाल्ने तागत काँग्रेससंग मात्रै रहेको दावी गर्नुभयो । नेपाल किसान महासंघकी प्रदेश अध्यक्ष रिता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा आसन्न निर्वाचनमा काँग्रेसका तर्फबाट प्रतिनीधि सभाकी समानुपातिक उम्मेद्वार रिता सेन, लक्ष्मण घिमिरे लगायतले भनाई राख्नुभएको थियो ।

बुटवललाई स्वास्थ्य हव बनाउने योजना

काँग्रेस उम्मेद्वार पौडेलले बुटवललाई स्वास्थ्य हव बनाउने पनि प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार स्वास्थ्य क्षेत्रका अस्पताल सञ्चालक, औषधी व्यवसायी तथा फर्मासिष्टहरुलाई सम्बोधन गर्दै उहाँले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)लाई मेडिकल कलेजको रुपमा विकास गर्ने तथा नीजि क्षेत्रबाट सञ्चालित अन्य अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई थप गुणस्तरीय र सुविधा सम्पन्न बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले बुटवललाई स्वास्थ्यको हव बनाउने आफ्नो योजना रहेको सुनाउनु भएको हो । बुटवलमा पूर्वपश्चिम, उत्तरदक्षिणबाट उपचारका लागि आउने सेवाग्राहीको भिड रहेको बताउँदै उनीहरुलाई प्रदान गरिने स्वास्थ्य सेवालाई गुणस्तरीय, विश्वसनीय बनाएर उपचारका लागि बुटवल बाहिर जानुपर्ने बाध्यताको अन्त्य गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका नेता तथा मर्सीसिटि अस्पतालका अध्यक्ष जनक कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस नेता तिनाउ अस्पतालका अध्यक्ष चिरञ्जिवी जोशी, मेलानका केन्द्रीय सदस्य गणनीधि खनाल, नेपाल फार्मेसी संघ रुपन्देहीका अध्यक्ष गणेश सेढाई लगायतले यस क्षेत्रको स्वास्थ्य सेवाको अवस्था तथा सुधार गर्नुपर्ने कुराहरुका बारेमा सुझाव राख्नुभएको थियो

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij