एक हप्ते आधुनिक कृषि प्रविधि सम्बन्धी तालिम रुपन्देहीमा सम्पन्न

एक हप्ते आधुनिक कृषि प्रविधि सम्बन्धी तालिम रुपन्देहीमा सम्पन्न

भैरहवा, राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले एक हप्ते   उन्नत जातको प्रमाणित बीउ छनोट गर्ने विधि, छर्ने तरिका, सन्तुलित मलखाद व्यवस्थापन, समयमै सिंचाई, रोग तथा किरा व्यवस्थापन र उत्पादन वृद्धि गर्ने आधुनिक अभ्यासबारे  प्राविधिक ज्ञान सम्बन्धि तालिम प्रदान गरेको छ ।

रुपन्देहीमा आयोजना गरिएको तालिममा २४ जिल्लामा २५ जना किसानको सहभागीता थियो । तालिममा किसानबाहेक १५ जना सम्बन्धित विषयका विद्यार्थीहरु पनि स्वेच्छाले तालिममा सहभागी भएका थिए । एक हप्तासम्म किसानहरुलाई सैद्वान्तिक र प्रयोगात्मक विधिबाट उन्नत गहुँखेती प्रविधि तालिम सिकाइएको थियो ।

तालिममा सहभागी अधिकांश किसानलाई नयाँ विकास गरिएका गहुँका जातबारे समेत थाहा थिएन । अधिकांशलाई कुन गहुँ छरेको भन्ने पनि थाहा नभएको बताए । तालिममा उपयुक्त जात छनोट कसरी गर्ने, बीउ उपचार, समयमै रोपाइँ, लाइनमा छर्ने विधि सिकाइएको राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम, भैरहवाका संयोजक डा। रोशन बस्नेतले बताउनुभयो ।

माटो परीक्षण गरेर सन्तुलित मलखाद कसरी प्रयोग गर्ने, सिँचाई व्यवस्थापन, रोग र कीरा व्यवस्थापन, झार नियन्त्रण, कटानी र भण्डारण जस्ता कुरा किसानहरुलाई सिकाइएको बाली तथा बागवानी अनुसन्धान, नेपाल कृषि अनुसन्धान परिषद्का निर्देशक डा। टेक प्रसाद गोतामेले बताउनुभयो ।

राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले खाद्य सुरक्षासँगै पोषण सुरक्षालाई प्राथमिकतामा राख्दै पछिल्लो ६ दशकमा ५४ वटा उन्नत गहुँका जात विकास गरेको छ । हाल थप ४ जात सिफारिसको चरणमा रहेका छन् भने १३ वटा पुराना जात सिफारिस सूचीबाट हटाइएका छन् ।

अनुसन्धान कार्यक्रमले तराई क्षेत्रका लागि जिंक गहुँ–१, जिंक गहुँ–२ र बोर्लग–२०२० तथा पहाडी क्षेत्रका लागि खुमलशक्ति, भेरीगंगा र हिमगंगा जात विकास गरेको छ । यी जातमा जिंक र आइरनको मात्रा बढी पाइने तथा रोग, किरा र जलवायु परिवर्तनको असर सहन सक्ने क्षमता उच्च रहेको दावी गरिएको छ । नयाँ जातबाट प्रतिहेक्टर साढे पाँच टनसम्म उत्पादन लिन सकिने वैज्ञानिकहरूको दावी छ ।

वैज्ञानिकहरूका अनुसार उन्नत जात प्रभावकारी रूपमा किसानसम्म पुर्याउन सके र मलखाद तथा सिँचाइको उचित व्यवस्थापन गर्न सके देश गहुँमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्ने अवस्थासम्म पुग्न सक्छ । तालिम सम्पन्न भएसँगै सहभागी किसानहरूले आफ्ना समुदायमा सिकेका प्रविधि विस्तार गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij