मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै

मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै

काठमाडौं, अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन्।

आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफु भन्दा सानालाई आशिर्वाद दिने र आफु भन्दा ठूलासँग आशिर्वाद लिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।

खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गर्दछ।

शनिबार बिहान नेपाली जामे मस्जिद घन्टाघरमा विशेष नमाज पाठ गरेसँगै ठूलाबडाकहाँ आशीर्वाद लिनेक्रम सुरु हुन्छ। यो पर्वको अर्को उल्लेखनीय पक्ष दीन दुःखी र गरीबलाई दान दिनु हो। यसैगरी घण्टाघरमै रहेको काश्मि मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिन्छ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको वचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ। यसरी दान गरिएको नगद वा जिन्सी दीन दुःखी एवम् गरीबलाई बाडिनुलाई जकात भनिन्छ।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन्। जसलाई सत्कार फितर भनिन्छ। यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम रहेको छ भने यो दानपनि दीन दुःखी र गरिबलाई नै दिने चलन छ।

एक महिना अघिदेखि मुस्लिम समुदायको ब्रत रोजा सुरु भएको थियो। एक वर्षभित्र गरेका पाप कटाउन यो ब्रत गर्ने र एक महिनासम्म सूर्योदयदेखि सूर्यास्त नभएसम्म ब्रत बसेर साँझ चन्द्रमाको पूजा गर्ने गरिन्छ।

यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाइ साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन्। इदका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ। तर पनि आज शनिबार परेको छ।

इद उल फित्रको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउने बताएका छन्।

इस्लाम धर्मावलम्बीको महान् चाड ईद ,ईद–उल–फित्र का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यो पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वाससमेत व्यक्त गरेका छन्।

सन्देशमा राष्ट्रपति पौडेलले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवम् भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

प्रकाशित मिति : शनिबार, चैत्र ७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij