पेट्रोलमा इथानोल मिसाउने सरकारको तयारी, खेर जाने कृषि उपजबाट उत्पादन गर्न सकिने

पेट्रोलमा इथानोल मिसाउने सरकारको तयारी, खेर जाने कृषि उपजबाट उत्पादन गर्न सकिने

 

काठमाडौं,

सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी बिक्री वितरण गर्ने तयारी गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको सूचना उल्लेख गर्दै सरकारको नीति अनुसार स्वदेशमै उत्पादित इथानोल खरिद गर्न लागेको जानकारी दिएको हो ।

यसका लागि निगमले खेर जाने कृषि तथा अन्य जैविक पदार्थ प्रयोग गरी इथानोल उत्पादन र आपूर्ति गर्न इच्छुक स्वदेशी उत्पादकलाई आवेदन दिन आह्वान गरेको छ ।

इथानोल उत्पादनका लागि प्रयोग गर्न सकिने कच्चापदार्थको निगमले विस्तृत सूची नै सार्वजनिक गरेको छ । यस अन्तर्गत चिनी उद्योगबाट प्राप्त हुने खुदो (मोलासेस) र नेपियर घाँसदेखि लिएर पराल, मकैको ढोड र गहुँको छ्वालीजस्ता कृषि अवशेषलाई समेत समावेश गरिएको छ ।

त्यसैगरी खेर जाने अन्य कृषि तथा वनजन्य जैविक पदार्थ (बायोमास), सिमल तरुल (कास्साभा) र खाद्यान्नका लागि प्रयोग गर्न नमिल्ने गरी सडेगलेका अन्नलाई पनि इथानोलको कच्चापदार्थका रूपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।

सरकारले २८ फागुन २०८२ मा राजपत्रमा प्रकाशित गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ अनुसार तयारी अगाडि बढाइएको हो । आदेशमा तोकिएको गुणस्तर र विधि पूरा गर्ने उत्पादकहरूबाट निगमले इथानोल खरिद गर्ने छ ।

यस नीतिले खेर गइरहेका कृषिजन्य वस्तु सदुपयोग गरी आयात प्रतिस्थापनमा सहयोग पुग्ने विश्वास निगमले लिएको छ ।

यद्यपि, खाद्यान्नका रूपमा प्रयोग हुने अन्नलाई भने इथानोल उत्पादनमा प्रयोग गर्न नपाइने सूचनामा स्पष्ट पारिएको छ ।

‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ मार्फत स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवर्द्धन, रोजगारी सिर्जना, कृषि तथा जैविक स्रोत उपयोग बढाउने र ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने सरकारको लक्ष्य छ ।

उपलब्धता अनुसार प्रतिलिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्ने छ । आवश्यकता अनुसार मन्त्रिपरिषद्ले यो अनुपात घटबढ गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

उद्योगहरूले प्रचलित कानुन अनुसार तोकिएका कच्चापदार्थबाट मात्र उत्पादन गर्नुपर्ने छ र उत्पादन गरिएको इथानोल आयल निगमलाई मात्र बिक्री गर्नुपर्ने छ ।

निगमले खरिद गर्नुअघि प्रत्येक खेपको गुणस्तर परीक्षण गर्ने छ भने उत्पादक उद्योग आफैंले पनि गुणस्तर परीक्षणका लागि आफ्नै प्रयोगशाला स्थापना गर्नुपर्ने दायित्व तोकिएको छ ।

गुणस्तरहीन इथानोल खरिद–बिक्री पूर्णत: निरुत्साहित गरिएको छ । साथै, इथानोल एक ज्वलनशील र संवेदनशील पदार्थ भएकाले यसको उत्पादन, भण्डारण, ढुवानी र मिश्रणका लागि आवश्यक पर्ने सुरक्षा मापदण्ड मन्त्रालयले छुट्टै बनाएर लागु गर्ने छ ।

आयल निगमले इथानोल खरिदका लागि उद्योगहरूसँग सम्झौता गर्ने छ र उद्योगले दैनिक आवश्यक परिमाण, तोकिएको स्थान र समयमा इथानोल उपलब्ध गराउनुपर्ने छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ ६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij