बुटवल – लुम्बिनी प्रदेशमा हुने अधिकांश सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेको तथ्य सार्वजनिक भएको छ। नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रगति विवरणअनुसार गत वर्ष भएका ४ हजार ७ सय ९७ दुर्घटनामध्ये ३ हजार २ सय ९५ वटा ९करिब ६८।७ प्रतिशत० दुर्घटना तीव्र गतिका कारण भएका हुन्।
दुर्घटनाका कारण प्रदेशभर ५८५ जनाले ज्यान गुमाएका छन् भने १ हजार ७ सय ९९ जना गम्भीर र ६ हजार २ सय ५९ जना सामान्य घाइते भएका छन्। मृत्यु हुनेमध्ये ४२४ पुरुष, ११० महिला, ३४ बालक र १७ बालिका रहेका छन्।
प्रतिवेदनले दुर्घटनाको अर्को प्रमुख कारण मादक पदार्थ सेवन र चालकको लापरबाही रहेको देखाएको छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ६१३ वटा तथा चालकको असक्षमता वा लापरबाहीका कारण ५३५ वटा दुर्घटना भएका छन्। सडकको अवस्था, मौसम वा प्राविधिक समस्याका कारण हुने दुर्घटनाको संख्या भने तुलनात्मक रूपमा कम रहेको उल्लेख छ।
दुर्घटनामा संलग्न ६ हजार ८२२ सवारी साधनमध्ये ४ हजार २८६ वटा मोटरसाइकल रहेका छन्, जुन कुल दुर्घटनाग्रस्त सवारीको ६३ प्रतिशत हो। त्यसपछि जिपरकार ६६६, टेम्पो ५०९, बस २१०, ट्रक तथा ट्याङ्कर २०४ र ट्र्याक्टर १९० वटा दुर्घटनामा परेका छन्।
ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीमाथि गरिएको कारबाहीबाट गत आर्थिक वर्षमा १ लाख २० हजार ४८ वटा सवारी साधन कारबाहीमा परेका छन्। यसबाट १३ करोड ५८ लाख ६ हजार ६३ रुपैयाँ राजस्व सङ्कलन भएको छ। साथै थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएका ८ हजार १६८ सवारी साधनबाट ८ करोड १६ लाख ८० हजार रुपैयाँ राजस्व दाखिला भएको छ।
दुर्घटना न्यूनीकरणका लागि प्रहरीले वर्षभर १० हजार ६६२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ५ लाख ५ हजारभन्दा बढी नागरिकलाई सडक सुरक्षाबारे जानकारी दिएको जनाएको छ। साथै ५३ वटा ब्ल्याक स्पटमा १३० वटा सुरक्षा उपकरण र सङ्केत राखिएको, कोहलपुरमा नयाँ ट्राफिक लाइट जडान गरिएको तथा कपिलवस्तुमा टोल–फ्री नम्बर १०३ सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।
प्रकाशित मिति : बुधबार, साउन १३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्