काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै विकसित घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम गर्न सात बुँदे सामूहिक अपिल जारी गरेको छ।
बैठकपछि जारी संयुक्त अपिलमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिको छ। साथै, घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
संयुक्त अपिलमा नेपालको विविधताबीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकलाई आग्रह गरिएको छ। लोकतन्त्रमा देखिएका असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव हुने भएकाले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आह्वान गरिएको छ।
अपिलमार्फत प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनीतिक दलका सबै तहका समितिलाई निर्देशन दिइएको छ।
भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनीतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
त्यस्तै, संवेदनशील अवस्थालाई थप जटिल बनाउन सक्ने भ्रामक समाचार, अफवाह र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहँदै सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न नागरिकलाई अपिल गरिएको छ। सञ्चारमाध्यमलाई पनि तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न आग्रह गरिएको छ।
सर्वदलीय बैठकले नेपाल सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीउपर कानुनबमोजिम कारबाही, पीडितलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई शीघ्र सामान्य बनाउन माग गरेको छ।
बैठकले राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध रहेको सन्देश दिँदै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ।
सर्वदलीय बैठकको संयुक्त वक्तव्य तथा अपिल
मिति २०८३ श्रावण १३ गते
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति माननीय रवि लामिछानेज्यूको आह्वानमा आज मिति २०८३ श्रावण १३ गते सम्पन्न सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लाहरूमा हालै विकसित अत्यन्तै संवेदनशील, दुःखद घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिको गम्भीर समीक्षा गर्दै निम्न बमोजिमको संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छस्
१समवेदना तथा सहानुभूतिस्
पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउने मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं। साथै, घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
२सामाजिक सद्भाव र शान्तिको अपिलस्
नेपालको पहिचान नै विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व हो। सदियौंदेखि हाम्रो समाजमा कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासी आम नागरिकहरूमा हार्दिक अपिल गर्दछौं। आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी छ।
३शान्तिपूर्ण संवाद र सहमतिको आह्वानस्
लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याहरूको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव छ। आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न सम्बन्धित सबै पक्षलाई हामी आह्वान गर्दछौं।
४ तल्लो तहमा सर्वदलीय संयन्त्र र बैठकको आह्वान स्
समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन। तसर्थ, प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पुर्याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न हामी आ(आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशित गर्दछौं। स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुनु आजको आवश्यकता हो।
केन्द्रीय तहबाट समन्वय र नेतृत्वदायी भूमिका स्
यस्ता प्रकृतिका दुःखद र संवेदनशील घटनाहरू भविष्यमा देशका कुनै पनि भू(भागमा दोहोरिन नदिन हामी, राजनीतिक दलको केन्द्रीय तह, अत्यन्तै गम्भीर छौं। यसका लागि आवश्यक पहलकदमी , निरन्तर समन्वय र अनुगमन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न हामी प्रतिबद्ध छौं।
६अफवाह नियन्त्रण र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग स्
यस्तो संवेदनशील समयमा सामाजिक सञ्जाल लगायतका माध्यमबाट फैलाइन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहहरूले स्थितिलाई थप भयावह बनाउन सक्छन्। तसर्थ, सामाजिक सञ्जालको अत्यन्त जिम्मेवार प्रयोग गर्न आम नागरिकलाई अनुरोध गर्दै, सञ्चारमाध्यमहरूलाई समेत संयमित र तथ्यपरक सूचना मात्र सम्प्रेषण गरिदिन आग्रह गर्दछौं।
७नेपाल सरकारको ध्यानाकर्षणस्
नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो। अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुन बमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं।
अन्त्मा, राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि हामी उपस्थित सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध रहेको सन्देश प्रवाह गर्दै, उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न हामी दृढ संकल्पित छौं।
प्रकाशित मिति : बुधबार, साउन १३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्