लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीबाहेक ८ मन्त्रालय कायम

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीबाहेक ८ मन्त्रालय कायम

देउखुरी,
लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली,२०८३ स्वीकृत गरेको हो ।

यसअघि १२ मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गर्दै अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक ८ मन्त्रालय कायम हुनेगरी प्रदेश सरकार कार्यविभाजन नियमावली,२०८३ स्वीकृत गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले कार्यसम्पादनलाई थप प्रभावकारी,व्यवस्थित र मितव्ययी बनाउन मन्त्रालयको संख्या घटाइएको बताए । अव लुम्बिनीमा मुख्यमन्त्री कार्यालय र आठ वटा मन्त्रालय रहनेछन् ।

नयाँ संरचनाअनुसार युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभिएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालय खारेज गरी उद्योग तथा यातायातको जिम्मेवारी आन्तरिक मामिला, कानून मन्त्रालयमा समायोजन गरिएको छ । त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई शहरी विकास मन्त्रालयमा गाभिएको छ । वन तथा वातावरण मन्त्रालयमा पर्यटन क्षेत्र थप गरी वन, वातावरण तथा पर्यटन मन्त्रालय बनाइएको छ ।

नयाँ नियमावलीअनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,आन्तरिक मामिला, कानून,उद्योग तथा यातायात मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन, वातावरण तथा पर्यटन मन्त्रालय, शहरी विकास, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहनेछन् ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश कृषि सेवाका दुई वरिष्ठ अधिकृतलाई स्थायी नियुक्ति तथा पदस्थापन गर्ने निर्णय पनि गरेको छ । प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा रामप्रसाद पाण्डेलाई कृषि विकास निर्देशनालय,रूपन्देही र भाष्कर पौडेललाई पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय,रूपन्देहीको महानिर्देशक पदमा नियुक्त तथा पदस्थापन गर्ने निर्णय गरिएको मन्त्री खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : बुधबार, साउन १३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij