काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले फुटको संघारमा पुगेको पार्टीलाई एकताबद्ध गर्ने अभियान सुरु गरेका छन् । आइतबार काठमाडौंको बानेश्वरमा भेला भएका नेताहरुले ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरेका हुन् ।
‘राष्ट्रका लागि कांग्रेस, कांग्रेसका लागि एकता’ नारामार्फत अभियान सुरुवात गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिए । सो अवसरमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले पार्टीभित्र लामो समयदेखि बढ्दै गएको मतभेद, अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर बन्दै गएको बताए । सम्मेलनमा उनले नेपाली कांग्रेस अहिले पार्टी एकताको गम्भीर परीक्षणबाट गुज्रिरहेको बताउँदै एकताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने बताएका हुन् ।
‘लामो समयदेखि पार्टीभित्र देखिएको मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठनलाई कमजोर बनाएको छ । आज पार्टी एकताको गम्भीर परीक्षणबाट गुज्रिरहेको छ,’ उनले भने, ‘नेपालको राजनीतिक इतिहासले एउटा सत्य पटक—पटक प्रमाणित गरेको छ, जब नेपाली कांग्रेस कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुन्छ । जब कांग्रेस विभाजित हुन्छ, लोकतान्त्रिक शक्तिहरू र राष्ट्रिय हितमाथि प्रतिगामी शक्तिहरू हाबी हुने वातावरण बन्छ ।’
उनका अनुसार कांग्रेसको एकता कुनै दलगत स्वार्थको विषय नभई लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको राष्ट्रिय दायित्व हो । ‘त्यसैले कांग्रेसको एकता कुनै दलगत स्वार्थको विषय होइन, यो लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको राष्ट्रिय दायित्व हो,’ उनले भने, ‘दुर्भाग्यवश, यतिबेला देश अनेकौं चुनौतीबाट गुज्रिरहेको छ । सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिँदा नेपाली नागरिकहरूले ज्यान गुमाएका छन्, अब मूल्य बराबरको धनसम्पत्तिमा क्षति पुगेको छ र नेपाली समाजको सद्भावमाथि चोट पुगेको छ ।’
देश अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै उनले सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिँदा नागरिकले ज्यान गुमाएको, ठूलो धनसम्पत्तिमा क्षति पुगेको र सामाजिक सद्भावमा समेत आघात पुगेको बताए । साथै आर्थिक मन्दी, बेरोजगारी, युवाको बढ्दो पलायन, सुशासनको संकट र जनजीविकाका समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको उनको बताए ।
त्यस्तै, अर्का नेता रन्जित कर्णले देश असहज अवस्थामा पार्टी विभाजित गर्न नहुने धारणा राखे । ‘आम जनताको मन रोएको बेला कांग्रेसलाई जोड्नुपर्ने आवश्यक्ता छ । कांग्रेस आन्तरिक रुपमा कमजोर र विभाजन भयो भने देश कमजोर हुन्छ । यस्तोबेला कांग्रेस एकढिक्का हुनैपर्छ ।’ कार्यक्रममा नेताहरुले कांग्रेसभित्र देखिएको संस्थापन र इतर भनिएको पक्षलाई एकतावद्ध हुन आग्रह गरे ।
प्रकाशित मिति : आइतबार, साउन १७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्