बुटवल मोबाइल संघ रुपन्देहीले मोबाइल व्यवसायीहरूका लागि साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
मोबाइल तथा डिजिटल कारोबारमा साइबर अपराधको जोखिम बढ्दै गएको भन्दै व्यवसायीलाई साइबर सुरक्षा, डिजिटल कारोबारमा अपनाउनुपर्ने सावधानी तथा ग्राहकका व्यक्तिगत विवरणको सुरक्षाबारे सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले प्रविधिको प्रयोगसँगै साइबर अपराधका चुनौती पनि बढ्दै गएकाले व्यवसायीहरू सचेत र जिम्मेवार बन्नुपर्ने बताउनुभयो। उहाँले मोबाइल व्यवसायीले आफू सुरक्षित हुनेसँगै ग्राहकको व्यक्तिगत तथा वित्तीय विवरणको सुरक्षालाई समेत प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
उहाँले साइबर सुरक्षाका विषयमा व्यवसायीलाई नियमित रूपमा जानकारी तथा प्रशिक्षण दिन आवश्यक रहेको बताउँदै स्थानीय तह, सुरक्षा निकाय र व्यवसायीबीच सहकार्य हुनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले मोबाइल तथा डिजिटल प्रविधिको प्रयोग बढेसँगै साइबर अपराधका नयाँ–नयाँ स्वरूप देखिन थालेको बताउनुभयो। उहाँले मोबाइल व्यवसायीले मोबाइल बिक्री तथा मर्मतका क्रममा ग्राहकका व्यक्तिगत विवरण, पासवर्ड तथा अन्य संवेदनशील सूचनाको गोपनीयता कायम गर्नुपर्नेमा जोड दिनुभयो।
श्रीवास्तवले साइबर अपराधबाट जोगिन शंकास्पद लिंक नखोल्ने, अपरिचित व्यक्तिलाई ओटीपी तथा पासवर्ड नदिने, सामाजिक सञ्जाल र डिजिटल कारोबारमा सावधानी अपनाउनेजस्ता आधारभूत सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गर्नुभयो। साइबर अपराधसम्बन्धी घटना भएमा समयमै प्रहरी तथा सम्बन्धित निकायमा जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल मोबाइल व्यवसाय महासंघ तथा संस्थापक अध्यक्ष विष्णु गेवाली, नेपाल मोबाइल वितरक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एमएल पाण्डे लगायतले मोबाइल व्यवसायको वर्तमान अवस्था, चुनौती तथा व्यवसायीको सुरक्षाका विषयमा धारणा राख्नुभएको थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर अक्षयकुमार रावतले साइबर अपराध, त्यसबाट बच्ने उपाय तथा कानुनी व्यवस्थाबारे प्रशिक्षण दिनुभएको थियो।यस्तै ई–सेवाका प्रवद्र्धन अधिकृत गोपाल न्यौपाने र अविष्कार भण्डारी तथा आईटी एजुकेसनका अमित रानाभाट र विनय शर्माले साइबर सुरक्षा, डिजिटल कारोबारमा अपनाउनुपर्ने सावधानी र प्रविधिको सुरक्षित प्रयोगबारे प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रम संयोजक खेम भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो भने कृष्णप्रसाद आचार्यले संस्थाको गतिविधि तथा उद्देश्यबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रमको अध्यक्षता बुटवल मोबाइल संघ रुपन्देहीका अध्यक्ष दिपेन्द्र पाण्डेले गर्नुभएको थियो। कार्यक्रममा रुपन्देहीका मोबाइल व्यवसायीहरूको सहभागिता रहेको थियो।
प्रकाशित मिति : मंगलबार, साउन २६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्