बुटवल – बुटवल उपमहानगरपालिका–१७ मा डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतना अभियान सञ्चालन गरिएको छ।
वडा नम्बर १७ का अध्यक्ष ज्ञानबहादुर रेस्मीले अभियानको शुभारम्भ गर्दै डेंगु नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण उपाय सरसफाइ र जनचेतना भएको बताउनुभयो। उहाँले डेंगु नियन्त्रण कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने भन्दै समुदायका सबै नागरिक जिम्मेवार भएर आफ्नो घर, आँगन, टोल तथा सार्वजनिक स्थान सफा राख्नुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष रेस्मीले भन्नुभयो, “डेंगु नियन्त्रणका लागि बाहिरबाट मात्र औषधि छर्केर हुँदैन। लामखुट्टेले अण्डा पार्ने ठाउँ नै नष्ट गर्नुपर्छ। घरवरिपरि पानी जम्ने अवस्था नराख्ने, फोहोर व्यवस्थित गर्ने र आफ्नो टोल सफा राख्ने हो भने डेंगुको जोखिम धेरै कम गर्न सकिन्छ।” उहाँले वडाले सरसफाइ तथा जनचेतनाका कार्यक्रमलाई निरन्तरता दिने बताउँदै अभियानमा सहभागी सबैलाई धन्यवाद दिनुभयो।
कार्यक्रममा मोतिपुर स्वास्थ्य चौकीका प्रमुख राजेश गिरीले डेंगु रोग, यसको संक्रमण, लक्षण तथा रोकथामका उपायबारे विस्तृत जानकारी गराउनुभयो। उहाँका अनुसार डेंगु फैलाउने एडिस जातको लामखुट्टेले सफा पानी जमेको ठाउँमा समेत अण्डा पार्ने भएकाले घर तथा समुदायमा पानी जम्ने सम्भावित स्थानको नियमित निरीक्षण गर्न आवश्यक छ।
स्वास्थ्य चौकी प्रमुख गिरीले भन्नुभयो, “डेंगु लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै सबैभन्दा प्रभावकारी उपाय हो। घरमा प्रयोग हुने गमला, टायर, बोतल, बाल्टी, ड्रमलगायतका सामग्रीमा पानी जम्न दिनु हुँदैन। पानीका भाँडाहरू नियमित रूपमा सफा गर्ने र लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने काम सबैले आफ्नो घरबाटै सुरु गर्नुपर्छ।”
उहाँले डेंगुको प्रमुख लक्षणमा अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको वरिपरि दुख्ने, शरीर तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने, कमजोरी महसुस हुनेलगायतका समस्या देखिन सक्ने बताउनुभयो। यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीको सल्लाह लिनसमेत उहाँले आग्रह गर्नुभयो।
गिरीले डेंगु र मलेरिया हरेक वर्ष समुदायमा चुनौतीका रूपमा देखिने गरेको उल्लेख गर्दै वर्षायाममा विशेष सतर्कता अपनाउनुपर्ने बताउनुभयो। उहाँले लामखुट्टेको टोकाइबाट जोगिन झुल प्रयोग गर्ने, शरीर ढाक्ने कपडा लगाउने तथा घरभित्र र वरपर सरसफाइ कायम राख्ने बानी विकास गर्नुपर्नेमा जोड दिनुभयो।
अभियानका क्रममा मोतिपुर क्षेत्रका विभिन्न चोक तथा टोलहरूमा सरसफाइ गर्दै डेंगु रोगबारे स्थानीयवासीलाई जानकारी गराउँदै हिँडिएको थियो। सहभागीहरूले पानी जम्न सक्ने स्थानको पहिचान गरी सफा गर्ने, फोहोर व्यवस्थापन गर्ने तथा लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने काम गरेका थिए। साथै स्थानीयवासीलाई डेंगुबाट बच्ने उपाय, लामखुट्टेको बासस्थान र रोगका लक्षणबारे प्रत्यक्ष रूपमा जानकारी दिइएको थियो।
अभियानमा स्थानीयवासी, वडा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका सहभागीहरूले “घर सफा, टोल सफा र पानी जम्न नदिए डेंगु नियन्त्रण गर्न सकिन्छ” भन्ने सन्देशसहित समुदायमा निरन्तर सरसफाइ अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
वर्षायाममा डेंगुको जोखिम बढ्न सक्ने भएकाले अभियानलाई एकदिने कार्यक्रममै सीमित नराखी नियमित सरसफाइ, जनचेतना र निगरानीलाई निरन्तरता दिनुपर्ने आवश्यकता सहभागीहरूले औँल्याएका छन्।मोतिपुर स्वास्थ्य चौकीको व्यवस्थापन तथा वडा नम्बर १७ को सहजीकरणमा सञ्चालन गरिएको अभियानमा स्थानीय, जनप्रतिनिधि, राजनीतिक दल, टोल विकास संस्था तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।अभयािनको कार्यक्रमको संचालन बुटवल उपमहानगरपालकि १७ वडा कार्यालयका कृष्ण पाण्डेका संचालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति : शुक्रबार, साउन २९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्