काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न मुख्य राजमार्ग तथा सहायक सडकखण्ड प्रभावित भएका छन् । कतिपय सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही खण्डमा एकतर्फी र समयगत रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको छ ।
नेपाल प्रहरी तथा सडक विभागका अनुसार बागमती प्रदेशका सडकहरू सबैभन्दा बढी प्रभावित भएका छन् । काभ्रेको बीपी राजमार्गअन्तर्गत कुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै समयगत रूपमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । उक्त सडकखण्डमा १० टनसम्मका मालवाहक सवारी रातिको समयमा मात्र सञ्चालन गर्न दिइएको छ । मिनी तथा साना सार्वजनिक यात्रुवाहक सवारीलाई भने तोकिएको समयतालिकाअनुसार सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलास्थित अरनिको राजमार्ग बाढी तथा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि अवरुद्ध छ ।
धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही गाउँपालिकाका अन्य केही स्थानमा भने सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा मर्मत कार्य भइरहेकाले सवारीको चापअनुसार पालैपालो एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको छ ।
यस्तै, कोशी प्रदेशको पाँचथरमा फालेलुङ गाउँपालिका–४ आसपास फिदिम–फालेलुङ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
गण्डकी प्रदेशको मनाङस्थित नासों गाउँपालिका–३ धारापानीमा चामे–बेँसीसहर सडकखण्डमा निर्माण कार्य भइरहेकाले यातायात प्रभावित भएको छ । उक्त सडकखण्डमा साना सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने ठूला सवारीका लागि पनि निश्चित समय तोकेर सडक बन्द गर्ने गरिएको सडक विभागले जनाएको छ ।
लगातारको वर्षाका कारण सडकमा थप क्षति तथा पहिरोको जोखिम रहेकाले यात्रुले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न आग्रह गरिएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र २८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्