चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ। गत भदौ १४ गते कृष्णभिर क्षेत्रमा आएको बाढीले सडक बगाएपछि अवरुद्ध भएको यातायात सेवा बिहीबार बिहानदेखि पुनः सञ्चालनमा आएको हो।
दुई दिनअघिदेखि रोकिएका सवारीसाधनलाई साँझको समयमा आवतजावत गराउन थालिएको भए पनि बिहीबारदेखि नियमित रूपमा सञ्चालन गरिएको हो।
कृष्णभिरमा सवारी सञ्चालन भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा पहिरो रोकथामका लागि आंशिक रूपमा रोकिएको यातायात सेवा पनि पुनः सञ्चालनमा आएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभिरमा यातायात सुचारु भएसँगै तुइन खोलामा सञ्चालन भइरहेको पहिरो नियन्त्रणसम्बन्धी काम तत्कालका लागि स्थगित गरिएको जानकारी दिए।
कृष्णभिरमा सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन राजधानी आवतजावत गर्न नसक्दा काठमाडौं उपत्यकामा एलपी ग्यासको अभावसमेत देखिएको थियो।
गत भदौ १० गतेको भोटेकोशी बाढीपछि बढेको त्रिशूली नदीमा भदौ १४ गते पुनः बाढी आउँदा कृष्णभिरसहित पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक क्षति पुगेको थियो। अन्य स्थानमा यातायात छिट्टै सुचारु भए पनि कृष्णभिरमा सडक पूर्ण रूपमा भासिएकाले लामो समय अवरोध कायम भएको थियो।
यो सडकखण्ड हुँदै दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गर्दछन्।
प्रकाशित मिति : बिहिबार, असोज १ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्