बुटवल । तिनाउसहित रुपन्देहीका नदी किनारमा उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनअनुसार असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र भारी वर्षाको सम्भावना रहेको भन्दै रुपन्देही प्रशासनले उच्च जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
रुपन्देही जिल्ला जिल्ला विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको वैठकले जिल्ला भित्रका जोखिम क्षेत्रहरु किटान गर्दै ती क्षेत्रमा विशेष सावधानी अपनाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निर्णयअनुसार बुटवलस्थित तिनाउ नदी क्षेत्र, सिद्धबाबा–दोभान क्षेत्र तथा तिनाउ नदी आसपासका बस्ती र बजार क्षेत्रमा बाढी तथा डुबानको जोखिम रहेको जनाइएको छ ।
प्रशासनले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र मायादेवी गाउँपालिकादेखि दक्षिणतर्फ तिनाउ नदीका दायाँ–बायाँ क्षेत्र, तिनाउ करिडोर आसपासका बजार तथा बस्तीलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ ।
त्यस्तै दानव नदी करिडोर, रोहिणी नदी आसपासका तटीय क्षेत्र, सियारी, लुम्बिनी, देवदह र सैनामैना नगरपालिका क्षेत्रका खोला तथा नदी आसपासमा समेत डुबान तथा कटान हुनसक्ने भन्दै सावधानी अपनाउन भनिएको छ । मर्चवार र मझगावासहितका क्षेत्रमा पनि डुबान तथा कटानको जोखिम औँल्याइएको छ ।
बाढी तथा डुबानबाट हुनसक्ने धनजनको क्षति न्यूनीकरणका लागि तत्काल आवश्यक रणनीतिक कदम चाल्ने निर्णयसमेत प्रशासनले गरेको छ । जोखिमयुक्त क्षेत्रमा स्थानीय तह तथा सम्बन्धित निकायलाई आवश्यक समन्वय गरी पूर्वतयारी गर्न भनिएको छ ।
यसैबीच, सम्भावित विपद्का बेला सञ्चार सेवा प्रभावित हुनसक्ने भन्दै जिल्लाका प्रहरी चौकी तथा सुरक्षा बेसमा रहेका वायरलेस सेटलाई पूर्ण चार्ज अवस्थामा राख्न र विद्युत् आपूर्ति बन्द भए जेनेरेटर तथा इन्भर्टरको व्यवस्था गर्न भनिएको छ ।
मोबाइल नेटवर्क तथा सोलार पावर बन्द हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै गाउँबस्तीबाट वडा कार्यालय हुँदै गाउँपालिकासम्म सूचना पु¥याउन स्थानीय स्वयंसेवक तथा युवा क्लबका सदस्यलाई सूचनादूतका रूपमा परिचालन गर्ने निर्णयसमेत गरिएको छ ।
तिनाउ नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गर्दै प्रशासनले माइकिङ समेत गरेको छ ।
यस्तै बुटवल उपमहानगरसहित जिल्ला भित्रका विभिन्न स्थानीय तहहरुले पनि आवश्यक सतर्कता अपनाउन अपिल गरेका छन् ।
प्रकाशित मिति : बिहिबार, असोज ८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्